एमालेको मतगणना शुरू, साढे दुई घण्टामा परिणाम आउने
नेकपा (एमाले)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ।
चितवनको सौराहास्थित होटल सेभेन स्टार परिसरमा मतगणना शुरू भएको हो। विद्युतीय भोटिङ मेसिनबाट मतदान भएकाले केही समयमै मतगणना सकिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए। “मतदान शुरू भएको साढे दुई घण्टामा परिणाम आउँछ,” सुब्बाले भने।
एमालेको नेतृत्व चयनका लागि आज बिहान ४ बजेदेखि मतदान भएको थियो। निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार, निर्वाचनमा दुई हजार ९६ मत खसेको छ। महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए।
एमाले अध्यक्ष, उपाध्यक्ष र सचिव सहित केही केन्द्रीय सदस्यका लागि मतदान भएको हो। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा छ।
त्यस्तै, ६ उपाध्यक्षका लागि सात जना उम्मेदवार छन्। घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा छ।
त्यस्तै, सात सचिवमा नौ जना उम्मेदवार छन्। भीम आचार्य, टंक कार्की, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ।