मतदान सकिए लगत्तै भीम रावलले भने- आचारसंहिता विपरीत केही कुरा भएका छन्
नेकपा (एमाले)को अध्यक्ष पदका उम्मेदवार भीम रावलले मतदानस्थलमा आचारसंहिता विपरीत केही कुरा भएको बताएका छन्।
मतदान सकिए लगत्तै सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा रावलले निर्वाचनका क्रममा केही गलत काम भएको बताएका हुन्। “निर्वाचनमै जानुपर्छ भन्ने मेरो धारणा थियो, मेरो धारणा अनुसार नै भएको ठानेको छु,” रावलले भने, “तर, यो निर्वाचनका क्रममा आचारसंहिता विपरीत केही कुरा भएका छन्।”
एमाले केन्द्रीय निर्वाचन आयोगले समूहगत रूपमा प्रचार गर्न नपाइने आचारसंहिता बनाएको थियो। तर, मतदानस्थलमा केपी शर्मा ओली पक्षले रावल लगायत केही उम्मेदवारको सूची बनाएरै मतदान नगर्न प्रचार गरेको थियो।
त्यसलाई उल्लेख गर्दै रावलले भने, “आचारसंहितामा समूहगत सूची बाँड्न नपाइने भन्ने थियो, तर बाहिर बाँडियो। त्यस्तो नगरौं भन्ने साथीहरूमाथि हातपात भयो। त्यो गलत हो।”
यससँगै पर्यवेक्षकलाई पनि मतदान गराउन खोजिएको र आफूले रोकेको उनले बताए। “केही सदस्यता फरक परेकाले पनि मतदान गर्न खोजे, तर त्यसलाई रोकियो।”
विद्युतीय भोटिङ मेसिनको प्रयोग पहिलो भएकाले यसको विषयमा धेरै भन्न नसकिने उनको भनाइ थियो। यसमा सबै ठीकै होला भन्ने विश्वास गरेको उनले सुनाए।
त्यस्तै, केन्द्रीय सदस्यमा भने आफूले उम्मेदवारी नदिएकाले स्वीकार नगर्ने बताए। “मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ, त्यस बाहेकका पदमा उम्मेदवारी दिएको छैन, ती पद स्विकार्ने कुरा हुँदैन,” रावलले भने।
ओलीले जारी गरेको केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम रहेको थियो। मतदानका क्रममा पनि उनको नाम समावेश गरिएको छ।
एमालेको नेतृत्व चयनका लागि मतदान सकिएको छ। अबको तीन घण्टाभित्र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।