निर्धारित समयमा सकिएन मतदान, थपियो समय
नेकपा (एमाले)को नेतृत्व चयनका लागि चितवनमा भइरहेको मतदानमा समय थपिएको छ।
निर्धारित समयमा मतदान नसकिएपछि समय थपिएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यसअघि आयोगले आज बिहान ८ बजेसम्मका लागि मतदान समय तोकेको थियो।
तर, ढिलो गरी मतदान प्रारम्भ भएको र थुप्रै मतदाता बाँकी रहेकाले समय थपिएको आयोगले जनाएको छ। अझै मतदान सकिन एक घण्टाभन्दा बढी समय लाग्न सक्ने आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा मतदान भइरहेको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र भीम रावल लगायत नेताले मतदान गरिसकेका छन्।
अध्यक्षसँगै उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव लगायत केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ। मतदान सकिएको केही घण्टामै मतपरिणाम आउने आयोगले जनाएको छ।