काष्ठमण्डपमा प्राचीन मूर्ति स्थापना गर्न माग
काष्ठमण्डपमा प्राचीन मूर्ति नै स्थापना गर्न सरोकारवालाहरूले माग गरेका छन्।
अधिवक्ता सञ्जय अधिकारी, श्रद्धा सुमन गुरुवाचार्य, अनुपम विष्ट, नितिज्ञा ओली र विन्दाकुमारी थापाले मंगलबार सम्बन्धित निकायलाई पत्राचार गर्दै प्राचीन मूर्ति स्थापना गर्न माग गरेका हुन्।
उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति र पुरातत्त्व विभागका महानिर्देशकलाई पत्र लेख्दै नक्कली मूर्ति हटाई प्राचीन मूर्ति स्थापना गर्न आग्रह गरेका छन्।
पत्रमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएपछि गोरखनाथको सक्कली मूर्तिलाई नक्कली मूर्तिले प्रतिस्थापन गरिएको भन्दै उक्त कार्य तत्काल परिवर्तन गर्न माग गरिएको छ।
विश्व सम्पदा तथा संरक्षित क्षेत्रभित्र अवस्थित काष्ठमण्डप र यसकाे अभिन्न अङ्गका रूपमा रहेको मूर्ति नेपालको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको पत्रमा उल्लेख छ।
प्राकृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि, १९७२ जस्तो सम्पदा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिलाई नेपालले स्वीकार गरिसकेको स्थितिमा अन्तर्राष्ट्रिय कानूनले व्यवस्था गरेका प्रावधानलाई सम्मान गर्नु, संरक्षण गर्नु र परिपालन गर्नुपर्ने दायित्व पनि पत्र मार्फत स्मरण गराइएको छ।
उनीहरूले यसरी अनधिकृत रूपमा मूर्ति परिवर्तन गरे विश्व सम्पदाबाट गुमाउनुपर्ने अवस्था आउन सक्ने समेत चेतावनी दिएका छन्।
“गोरखनाथको मूर्ति परिवर्तन गरिएको र चार गणेशलाई बेवारिसे अवस्थामा राखिएको गैरकानूनी कार्यलाई यहाँहरूले आफ्नो पदीय दायित्व तथा कानूनले प्रदान गरेको दायित्वलाई बोध गरी पुरानै प्राचीन मूर्तिलाई स्थापना गराउनुहुनेछ भन्ने अपेक्षा गर्दछौं,” पत्रमा उल्लेख गरिएको छ।