सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाको निर्माण चाँडो सक्न प्राधिकरणको ताकेता
नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको प्रगति असाध्यै सुस्त छ।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण सकिनुपर्ने मिति गुज्रिइसके पनि यी आयोजनाको निर्माण सकिने मितिको अझै टुङ्गो छैन।
प्राधिकरणले यी आयोजनाको निर्माण छिटो सक्न ताकेता गर्न थालेको छ। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनामा ढिलाइ भएपछि प्राधिकरणले जतिसक्दो छिटो सम्पन्न गर्न पहल गरेको हो।
निर्माणमा ढिलाइ हुनुमा भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्य सम्पादन, बाढीपहिरो, कोभिड-१९ को महामारी लगायत कारण देखाउने गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन मार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
“मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथाशक्य छिटो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,” घिसिङले भने, “बाँकी काम समानान्तर रूपमा अगाडि बढाएर सात-आठ महीनाभित्र सम्पन्न गर्नुपर्छ।”
माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङ लगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइप जस्ता हाइड्रोमेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ।
माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ्क खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ। विद्युत्गृहका उपकरण रहने संरचना निर्माण सम्पन्न भइसकेको छ। सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ। निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरण जडान गर्नेछन्। प्रसारण लाइनको टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ।
रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो। इलेक्ट्रोमेकानिकलका ९९ प्रतिशत उपकरण आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान भइरहेको छ।
घिसिङले इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्य सम्पादनका कारण निर्माण प्रभावित भएको बताउँदै कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी आठ-नौ महीनाभित्र सक्न निर्देशन दिए।
तीन वटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेशनमा जोडिनेछ। चिलिमे तथा त्रिशूली-३ ‘बी’ हब सबस्टेशन र चिलिमे-त्रिशूली-३ ‘बी’ हब सबस्टेशनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यही प्रसारण लाइन मार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ।