शेयर बजारमा मौद्रिक समीक्षाको प्रभाव, आज पनि नेप्से घट्यो
शेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि ओरालो लागेको छ।
नेप्से परिसूचक सोमबार २१.५१ अङ्कले घटेर २ हजार ६ सय २९.९८ अङ्कमा ओर्लिएको छ।
आइतबार नेप्से ८०.२९ अङ्कले घटेको थियो। मौद्रिक नीतिको पहिलो समीक्षाले शेयर बजार अनुकूल नीति सार्वजनिक गर्ने अपेक्षामा बसेका लगानीकर्तालाई राष्ट्र ब्यांकले गत शुक्रबार जारी गरेको समीक्षाले निराश बनाएको छ।
मौद्रिक नीतिको समीक्षा आएपछि शेयर बजार परिसूचक नेप्से १०१.८ अङ्कले घटिसकेको छ। सोमबार १२२ कम्पनीकाे शेयर मूल्य घटेकाे छ भने ६० कम्पनीकाे शेयर मूल्य भने बढेको छ।
आज रु.४ अर्ब ८९ लाख मूल्य बराबरको शेयर कारोबार भयो। जलविद्युत् र म्युचुअल फन्ड बाहेक सबै समूहका उपसूचक घटेका छन्।
सबैभन्दा धेरै होटल र पर्यटन समूहको उपसूचक २.२५ प्रतिशत घटेको छ। विकास ब्यांक १.३६ प्रतिशत र ब्यांकिङ समूह ०.६१ प्रतिशत घटेका छन्।
आज कारोबार भएकामध्ये आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्। त्यसैगरी, चन्द्रागिरि हिल्स, महालक्ष्मी विकास ब्यांक, मानुषी लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले पनि उच्च दरमा गुमाएका छन्। यद्यपि, न्यादी र साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत नाफा कमाएका छन्।