जलवायु सङ्कटले बालविवाह झन् विकराल
गरीबी र खडेरीले अन्न जुटाउन मुश्किल परेपछि सानै उमेरमा छोरीलाई बिहे गरेर पठाइदिन्छ विपन्न समुदाय।
‘मुलाई क्यै थाह भयानाईं !’
पीडा र थकाइले खुम्चिएको मुहार अझ खुम्च्याउँदै बिर्जमानले दुःख बिसाए। त्यसअघि उनले भारी बिसाए। मुक्तिकोट गाउँका बासिन्दा उनी अर्धचेत बुहारी रेतीलाई बोकेर स्वास्थ्यचौकी आइपुगेका थिए। स्वास्थ्यचौकी पुग्न गाउँबाट तीन घण्टा ओह्रालो झर्नुपर्छ।
तीन महीनाकी गर्भवती रेती निरन्तर रक्तस्रावले इन्तु न चिन्तु थिइन्। केही बेरको उपचारपछि उनको ज्यान त जोगियो। तर, पेटमा हुर्किंदो ‘भविष्य’ जोगिएन। १६ वर्षमै बिहे अनि २२ वर्ष पुग्दा दुई सन्तानकी आमा। गर्भावस्थामा कमजोरी र शारीरिक बोझ उत्तिकै। गर्भ खेर जानुमा स्वास्थ्यकर्मीले यिनै कारण औंल्याए। पति भारतमा मजदूरी गर्छन्। बच्चा हुर्काउने, गाईबस्तु हेर्ने, पानी ल्याउने जस्ता घरका जे-जति काम छन्, सबै रेतीकै थाप्लामा।
“फार्मेसीमा यस्ता केस प्रायः आइरहन्छन्,” गोपाल सिंहले भने, “दिनहुँ गर्भपतन भइरहन्छ।” किशोरावस्थामै गर्भ बोक्दा यस्तो जोखिम बढ्दो छ। कानूनले २० वर्ष नपुगी बिहे गर्नुलाई अपराध मान्छ। तर, दलित समुदायको बाहुल्य रहेको मुक्तिकोटमा यो कुरा सामान्य हो।
बालविवाहका लागि निरक्षरता, गरीबी र सांस्कृतिक मूल्य-मान्यतालाई दोषी औंल्याइँदै आएको छ। तर, पछिल्लो समय लगातारको खडेरी र बाढीपहिरो जस्ता कारण पनि बालविवाह बढाउन सहायक देखिएका छन्।
गत हिउँदमा पश्चिम नेपालले ६ महीना खडेरी भोग्यो। जङ्गलमा महीनौं डढेलो लागिरह्यो। यस वर्षको मनसुनमा चाहिं पर्याप्त पानी परेकाले किसानहरू बाली फस्टाउने आशमा थिए। तर, दुई महीनाअघिको बेमौसमी वर्षाले बिगारिहाल्यो। वैज्ञानिकहरू तापमान वृद्धिका कारण अनिश्चित मनसुन र खडेरी जस्ता प्राकृतिक समस्या बढेको बताउँछन्।
विपत्तिले बाली बिग्रिएर अन्नै जुटाउन मुश्किल परेपछि विपन्न समुदायले ‘खाने मुख’ घटाउने उपाय सुझाएका छन्- छोरीलाई बिहे गरेर पठाइदिने। तर, अत्यधिक शारीरिक श्रम, अपरिपक्व उमेरमा गर्भधारण र पोषणयुक्त खानपिन अभावमा छोरीहरूको जीवन जोखिममा परिरहेको छ।
“आमा बितिसकेपछि बुबाले फेरि विवाह गर्नुभयो,” रेतीले सम्झिइन्, “त्यसपछि १६ वर्षकै उमेरमा मेरो पनि बिहे गरिदिनुभयो।”
सोही गाउँकी १६ वर्षीया सुबीले तीन महीनाअघि घरमै बच्चा जन्माइन्। तर, उनको सन्तानसुख दुई दिन पनि टिकेन। गर्भावस्थामा एक पटक पनि गर्भ जाँच नगराएकी उनी कुपोषित थिइन्। बच्चालाई पुग्ने गरी स्तनपान गराउनै सकिनन्।
अर्कातिर, प्रसूतिको दुई सातासम्म पनि सुबीको रक्तस्राव थामिएन। स्वास्थ्य केन्द्र पुर्याउने कोही थिएन। अहिले उनी बाँच्न त सफल भइन्, तर कमजोरी र रक्तअल्पताले ग्रस्त छिन्। सुबीकी साथी १६ वर्षीया सुना पनि गर्भवती छिन्। सुबीको अवस्था देखेपछि उनी केही सचेत भएकी छन्। त्यसैले आइरन चक्की लिन पाँच घण्टा हिंडेर स्वास्थ्यचौकी पुगेकी थिइन्।
लामो खडेरीले बाली बिग्रिएपछि घरमा गरीबी थपियो। अनि आमा राउथीले छिमेकीको छोरासँग सुनाको बिहे गराइदिइन्। गरीबीकै कारण सुबी र सुनाका पति पनि भारत पसेका छन्।
मुक्तिकोटका प्रायः परिवारका कम्तीमा एक पुरुष हरेक वर्ष भारतमा मजदूरी गर्न जान्छन्। तिनैको आम्दानीबाट परिवार धान्नुपर्ने अवस्था छ। “यहाँ जीवन कठिन छ,” राउथी भन्छिन्, “मेरा सात छोराछोरीमध्ये दुई जना अपाङ्ग भएकाले न विद्यालय जान सक्छन् न त काम गर्न। खडेरीले सारा बाली सुकेर गयो। त्यसैले छोरीको विवाह गरिदिए लालनपालनको चिन्ता हुँदैन।”
नेपालमा करीब ४० प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गर्छन्। अनि १४ प्रतिशतले १९औं जन्मदिन अगावै पहिलो सन्तान जन्माउँछन्। गरीबीका कारण अनेकौं भए पनि बालविवाहको मुख्य कारण चाहिं गरीबी नै हो। पछिल्लो समय कोरोना महामारीले गरीबी झन् चर्काइदिएको छ। बाजुरा जिल्लाको हकमा यो दर अझ बढी छ।
नेपालकै सबैभन्दा न्यून विकास सूचकाङ्क रहेको यो जिल्लामा ७० प्रतिशतभन्दा बढी मानिस गरीबीको रेखामुनि छन्। १.४२ प्रतिशत जमीनमा मात्र सिंचाइ सुविधा पुगेको छ। यहाँ कुल जमीनमध्ये नौ प्रतिशत मात्र खेतीयोग्य छ। विगत १० वर्षमा जौ, गहुँ, मकै र कोदोको उत्पादन ह्वात्तै घटेको छ।
बाजुरामा प्रत्येक वर्ष ११ हजार टन खाद्यान्न अभाव हुन्छ। विश्व खाद्य कार्यक्रमको तथ्याङ्क अनुसार यहाँका ८५ प्रतिशत जनता खाद्य सङ्कटमा छन्। त्यसमध्ये मुक्तिकोट पोषणका हिसाबले अति जोखिममा परेको गाउँ हो। सामान्य अवस्थामा पनि वर्षभरि उब्जाइएको अन्नले प्रति परिवार तीन महीना समेत धान्दैन। परिणाम- विदेश पलायन, कुपोषण, बालविवाह, मातृ-शिशु मृत्यु जस्ता समस्या झन् थपिएका छन्।
यहाँका कृषकहरू आकाशेखेतीकै भरमा हुन्छन्। तर, नजिकैको मार्तडी मेट स्टेशनको ३० वर्षयताको तथ्याङ्कले वर्षा र हिमपातको प्राकृतिक चक्रमा निकै उतारचढाव आएको देखाउँछ। यसले गर्दा बालीमा क्षति बढ्दो छ।
“पछिल्लो समय अप्रत्याशित वर्षा हुने गरेको छ, मार्सी धान र गहुँका लागि आवश्यक पर्ने हिमपात घटेको छ,” ६५ वर्षीय बृजबहादुर बमले भने, “कहिले खडेरीले धानबाली सुकाउँछ। जब भारी वर्षा हुन्छ, सम्पूर्ण बालीनाली बगाइदिन्छ।”
विज्ञहरूका अनुसार, निरन्तरको खडेरीले जमीनको तल्लो तहमा रहेको पानी सुकाइदिन्छ। पानीको त्यो तहलाई जलभृत भनिन्छ। “यसरी सुकेको जलभृतलाई पछिल्लो समय परेको अनियमित वर्षा र हिमपातले पुनर्भरण गर्न सक्दैन,” जल तथा मौसम विज्ञान विभागकी इन्दिरा कँडेलले भनिन्।
भारतमा गरिएको एक अनुसन्धानले पनि खडेरी र बालविवाहबीचको सम्बन्धलाई पुष्टि गरेको छ। क्याम्ब्रिज युनिभर्सिटीमा पीएचडीकी छात्रा रीतिका रेवती सुब्रमण्यमले भारतको जातीय द्वन्द्वग्रस्त मराठवाडा क्षेत्रमा यस सम्बन्धी अध्ययन गरेकी थिइन्। “एउटी किशोरीको विवाह पछाडि कैयौं आपसी कारणहरूले भूमिका खेलेका हुन्छन्,” उनले भनेकी छन्, “गरीबी, शिक्षा अभाव, सामाजिक दबाब, शोषण आदि बढ्नुमा प्राकृतिक प्रकोपहरू पनि कारण देखिन्छन्।”
बाजुरामा पनि कृषिमा जलवायु सङ्कटको प्रभावबाट विपन्न समुदाय बढी जोखिममा छ। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा सहजकर्ता भएर काम गरिसकेका बिरबन विक भन्छन्, “यहाँ बालविवाह व्याप्त छ। खाद्यान्न सङ्कट र धेरै बालबच्चा भएको परिवारमा अझ बढी।” उक्त कार्यक्रमले बाजुरामा सिंचाइ, नहर निर्माण साथै र बाढी रोक्न ग्याबियन पर्खाल बनाउने कामलाई प्राथमिकता दिंदै आएको छ।
बाजुराको दलित बस्तीलाई मुक्तिकोट नाम दिइएको धेरै भएको छैन। गाउँलाई जातीय विभेदबाट मुक्त गराइएको देखाउन तत्कालीन विद्रोही माओवादीले यसको नामकरण गरिदिएका थिए। तर, द्वन्द्व सकिएको १६ वर्ष बित्दा पनि यहाँका बासिन्दाले गरीबी र त्यसले निम्त्याएका तमाम समस्याबाट मुक्ति पाएका छैनन्।
गाउँपालिकाका अधिकारी र स्थानीय बासिन्दाले यी समस्याबाट निस्कने एउटै उपाय देखेका छन्– पूरै बस्ती स्थानान्तरण गर्ने। उनीहरूलाई तीन हजार मिटरसम्मको उचाइमा पुनःस्थापना गर्ने योजना बन्दै छ। हिमाली भेगमा पुनःस्थापना गर्न सके गाउँलेहरूले ओखर र स्याउ जस्ता नगदे बाली उत्पादन र बिक्री गरेर जीविकोपार्जन गर्न सक्ने सरोकारवालाको बुझाइ छ।
“जलवायु-अनुकूल नगदे बालीहरू अपनाउने, किसानहरूलाई बजार व्यवस्थापनसँग जोड्ने, अग्रोफरेस्ट्रीलाई प्रवर्द्धन गर्ने र पूर्वाधार विकासका लागि बायोइन्जिनियरिङको प्रयोग गरेर जीविकोपार्जन र आम्दानीका स्रोतहरूको विविधीकरण हुन सक्छ,” विश्व खाद्य कार्यक्रम नेपालकी मोनिका उपाध्याय भन्छिन्।
जलवायु सङ्कटले विपन्न समुदायका महिला अझ बढी प्रभावित छन्। नजिकैको पानीको मुहान सुक्दा घण्टौं हिंड्नुपर्ने बाध्यता छ। “बाजुरा र अन्य जिल्लामा सामाजिक, आर्थिक, भौगोलिक र जलवायुजन्य जोखिमबाट महिलाहरू बढी प्रभावित भएकाले हामीले जलवायु–उत्थानशील र लैङ्गिक उत्तरदायी योजना बनाउन आवश्यक छ,” वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी राधा वाग्ले भन्छिन्।
सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, बाजुराकै राधुमाता माविमा कक्षा १० मा अध्ययनरत ११३ विद्यार्थीमध्ये १३ जना मात्रै अविवाहित छन्। तीमध्ये एक हुन्, १७ वर्षीया मनशोभा बुढा। उनी भन्छिन्, “मेरा स्कूल तथा घरछिमेकका साथीहरूको विवाह भइसक्यो। मलाई पनि दबाब छ। तर, मैले सकेसम्म पढाइ पूरा गरेरै छाड्ने सोचेकी छु।”
बालविवाह निम्त्याउने कारणहरू समाधान नगरिएसम्म लक्ष्य तय गरेर मात्र हुँदैन। त्यसका लागि योजना र कार्यक्रम बनाइनुपर्छ। तिनको प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ। “सङ्कटासन्न वर्गका विशेष गरी महिला र किशोरीहरूसँग नजिकिएर काम गर्नका निमित्त बालविवाह रोकथाम समूह खडा गरी गाउँस्तरीय समितिहरूलाई बलियो बनाउनुपर्छ,” सुब्रमण्यम भन्छिन्।
(केही नामहरू परिवर्तन गरिएका छन्।)
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुस्।