वरिष्ठ उपाध्यक्ष सहित पाँच पदाधिकारी निर्विरोध!
नेकपा (एमाले)को १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष सहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उम्मेदवारी दर्ता गर्ने समयसम्म वरिष्ठ उपाध्यक्षमा एक, महासचिवमा एक र उपमहासचिवमा तीन जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको मात्रै उम्मेदवारी परेको छ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ।
उनीहरू निर्वाचित भए पनि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ।
अध्यक्ष, उपाध्यक्ष र सचिवमा भने निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उपाध्यक्षमा घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङको उम्मेदवारी परेको छ। एमालेमा ६ जना उपाध्यक्ष रहने व्यवस्था छ। सात जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको हो।
त्यस्तै, सचिवमा भीम आचार्य, टंक कार्की, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
एमालेमा सात जना सचिव रहने व्यवस्था छ। नौ जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको हो।