अध्यक्षमा रावललाई समर्थन गरेका भुसालले भने- पार्टीलाई ठीक ठाउँमा ल्याउनु छ, प्रतिनिधि कमरेडले बुझ्छन्
नेकपा (एमाले)का नेता घनश्याम भुसालले वैचारिक रूपमा पार्टीलाई ठीक ठाउँमा ल्याउनुपर्ने भएकाले महाधिवेशन प्रतिनिधिले सोचविचार गरेर मतदान गर्ने बताएका छन्।
चितवनको सौराहामा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया चलिरहेको छ। उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनले अध्यक्ष पदमा उम्मेदवार बनेका भीम रावललाई समर्थन जनाएका छन्।
त्यही अनुसार, महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका भुसालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै महाधिवेशन प्रतिनिधिले सोचविचार गरेरै मतदान गर्ने विश्वास व्यक्त गरे। “वैचारिक रूपले पार्टीलाई ठीक ठाउँमा ल्याउन जरुरी छ। राजनीतिक रूपले, वैचारिक रूपले पार्टीलाई ठीक ठाउँमा ल्याउन सकिएन भने हामीले आगामी दिनमा धेरै ठूला ठक्करहरू खानेछौं,” भुसालले भने।
पार्टीको सिद्धान्त निर्माणमा आफूले अगुवाइ गरेकाले महाधिवेशन प्रतिनिधिले आफूलाई भोट दिने उनको भनाइ थियो। “आठौं महाधिवेशनमा केन्द्रीय कमिटीमा पनि नभएका हामीले ल्याएको विचार नवौं महाधिवेशनमा त पार्टीले पारित गर्यो,” भुसालले भने, “पार्टीको सिद्धान्त निर्माणमा मैले लिड गरेको छु। यो कुरा केन्द्रीय कमिटी, स्थायी कमिटी र पार्टी अध्यक्षलाई पनि भनेको छु। महाधिवेशनमा यत्रा जाने-बुझेका कमरेडहरू छन्, यिनीहरूले सही कुरा बुझे भने हुँदैन? हुन्छ।”
एमाले अध्यक्षमा केपी शर्मा ओली र रावलले उम्मेदवारी दिएका छन्। त्यस्तै, उपाध्यक्षमा भुसालसँगै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ उम्मेदवार रहेका छन्।