अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, भीम रावलसँग प्रतिस्पर्धा हुने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगको कार्यस्थलमा पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनले सहमतिको प्रयास गरेका थिए। सहमति जुट्न नसकेपछि चुनावी प्रक्रिया थालिएको हो।
ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन्। उनले गएराति सार्वजनिक गरेको पदाधिकारी सूचीमा पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव छनोट गरेका थिए।
यसअघि अध्यक्ष पदका लागि एमाले नेता भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्। अब अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्ष पदका लागि ओलीको यो तेस्रो उम्मेदवारी हो। उनले पहिलो पटक आठौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यति वेला झलनाथ खनालसँग पराजित भएका थिए।
त्यसपछि दोस्रो पटक नवौं महाधिवेशनमा उम्मेदवारी दिएका थिए। त्यति वेला माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै, भीम रावलले पहिलो पटक अध्यक्षमा उम्मेदवारी दिएका हुन्। यसअघि नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्वका लागि चुनावी प्रक्रिया चलिरहेको छ। उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। दुवै जना ओलीको पदाधिकारी सूचीमा परेका थिएनन्।