भीम रावलले दिए एमाले अध्यक्षमा उम्मेदवारी
नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा आज बिहान मनोनयन दर्ता शुरू हुने बित्तिकै उनले उम्मेदवारी दिएका हुन्। एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आज बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया शुरू भएको छ।
गएराति अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य र पदाधिकारीको सूची सार्वजनिक गरेका थिए। जसमा ओलीले आफूलाई अध्यक्षमा राखेका थिए। नेता रावल र घनश्याम भुसाल पदाधिकारीमा अटाएका थिएनन्।
त्यसमा असन्तुष्टि जनाउँदै रावलले उम्मेदवारी दिएको बताए। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले जितेमा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउने बताए।
महाधिवेशन प्रतिनिधिले आफूलाई मत दिने उनको भनाइ थियो। अब पार्टीमा कुनै समूह नभएकाले महाधिवेशन प्रतिनिधिले मन लागेको उम्मेदवारलाई मतदान गर्न सक्ने उनले बताए।
उनी यसअघि एमालेको उपाध्यक्ष थिए। नवौं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर उपाध्यक्षमा निर्वाचित भएका थिए।