वरिष्ठ उपाध्यक्षको दाबी छोडेको छैन : नेम्वाङ
नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदको दाबी नछोडेको बताएका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको हलले दिएको अधिकार प्रयोग गरी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको सूची तयार गरेका छन्। ओलीलाई हलले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने अधिकार दिएको थियो।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई ल्याउन खोजेका छन्। वरिष्ठ उपाध्यक्षमा नेम्वाङले पनि दाबी गर्दै आएका छन्।
नेता नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा सहमति नभएको बताए। “मैले वरिष्ठ उपाध्यक्षको दाबी छोडेको छैन,” नेम्वाङले हिमालखबरसँग भने, “अहिलेसम्म सहमति भएको छैन।”
शनिबार अध्यक्ष ओलीले आगामी आम निर्वाचनपछि उनलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए। त्यसलाई उनले अस्वीकार गरेका थिए।
त्यसपछि उनलाई ओलीले उपाध्यक्षको अफर गरेका थिए। नेम्वाङले भने वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदमा नबस्ने जनाएका छन्।