पाँचै दलका नगर कमान्डर एउटै वडाका
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पाँचै राजनीतिक दलका प्रमुख एकै वडाका नेता चयन भएका छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका नेता चयन भएका हुन्। एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादीले राजुविक्रम चाम्लिङ, जसपाले मविन्द्र राई र एकीकृत समाजवादीले मकर राईलाई नगर कमिटी अध्यक्ष बनाएका छन्।
शनिबार सम्पन्न माओवादीको नगर सम्मेलनबाट राजुविक्रम अध्यक्ष चयन भएका हुन्। उनी यसअघि माओवादी नगर सम्मेलन आयोजक कमिटी अध्यक्ष थिए। सम्मेलनबाट उनी नै अध्यक्ष भएका छन्।
गत साता सम्पन्न कांग्रेसको स्थानीय तहको अधिवेशनमा चक्रकुमार नगर सभापति बनेका हुन्। त्यसअघि भएको एमालेको नगर सम्मेलनबाट डिल्ली नेतृत्वमा आएका थिए।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले पनि दुर्छिमकै मकरलाई नगर अध्यक्ष बनाएको छ। जसपामा भने लामो समयदेखि मविन्द्रले नेतृत्व गर्दै आएका छन्।
१ चैत २०७५ मा तत्कालीन संघीय समाजवादी फोरमले दुर्छिमका मविन्द्रलाई नगर कमिटीको अध्यक्ष चुनेको थियो। संघीय समाजवादी र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले २७ जेठ २०७६ मा उनैलाई नगर अध्यक्ष चयन गरेको थियो।
त्यसपछि राजपासँग मिलेर बनेको जसपाले पनि २७ भदौ २०७७ मा मविन्द्रलाई नै नगर कमिटी अध्यक्षमा निरन्तरता दिएको थियो। अहिले अन्य दलको नेतृत्वमा पनि दुर्छिमकै नेता आएका छन्।
२०२० देखि २०२२ सालसम्म जिल्ला पञ्चायत सदस्य बनेका डिल्लीसेर राई, नयनकुमार राईको पहलमा २०२६ सालमा दुर्छिम मावि स्थापना भयो। पुरानो शैक्षिक संस्थाको थलो भएका कारण दुर्छिमका स्थानीयले शिक्षामा सहज पहुँच पाए। जसले गर्दा राजनीतिक रूपमा पनि अरूभन्दा अगाडि आए।
चेतनाको विकास भएकाले नै दुर्छिमका नेता नेतृत्वमा आएको जसपाका नगर अध्यक्ष राई बताउँछन्। “उहिल्यै दुर्छिम मावि स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए, राजनीतिक रूपमा पनि बढी सहभागिता रहन पुग्यो,” उनले भने।