धानबालीमा क्षति पुगेका किसानलाई अधिकतम ५५ हजार दिइने
सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार पारेको छ।
२ मंसीरमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार, ३१ असोजदेखि ५ कात्तिकसम्मको वर्षाले धानमा पुगेको क्षति मूल्याङ्कन गरी अधिकतम ५५ हजार रुपैयाँसम्म दिइने भएको हो।
सरकारले तयार पारेको मापदण्ड अनुसार, पूर्ण क्षति पुगेका साना किसानलाई लागतको ६५ प्रतिशत, मध्यम किसानलाई २० प्रतिशत र आंशिक क्षति पुगेका मध्यम वा साना किसानलाई उत्पादन लागतको २० प्रतिशत राहत उपलब्ध गराइने भएको छ।
सरकारले तीन बिघाभन्दा बढी जमीन भएका किसानलाई ठूला, १० कट्ठादेखि तीन बिघा जमीन भएकालाई मध्यम र १० कट्ठाभन्दा कम जमीनमा खेती गरेकालाई साना किसान भनेर वर्गीकरण गरेको छ।
तर, रकम चाहिं ५५ हजार रुपैयाँभन्दा बढी नहुने मापदण्डमा उल्लेख छ। राहत रकम निर्धारण गर्न प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत संयोजक हुनेछन्।
त्यस्तै, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख, जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य हुनेछन्।
राहत रकम किसानको ब्यांक खाता मार्फत भुक्तानी हुने मापदण्डमा जनाइएको छ।