केन्यामा १२ नेपाली युवती बेचबिखन गर्ने क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल
अफ्रिकी मुलुक केन्यामा १२ नेपाली युवतीलाई बेचबिखन गरेको आरोपमा एक क्यानाडेली व्यवसायीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ।
केन्याको मोम्बासास्थित मानव बेचबिखनको मुद्दा हेर्ने अदालतले क्यानाडेली व्यवसायी असिफ अमिराली अलिभाई जेठालाई नेपाली युवतीको तस्करी र बेचबिखनको आरोपमा यस्तो सजाय सुनाएको स्थानीय सञ्चार माध्यम म्वाकिलिसी डटकमले उल्लेख गरेको छ।
जेठालाई नेपाली युवतीको तस्करी र बेचबिखन तथा अरूको राहदानी नियन्त्रणमा लिएको जस्ता आरोप लगाइएको छ। उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना पनि तोकिएको छ।
मानव तस्करीमा परेका ती १२ नेपाली युवतीलाई मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारबाट सन् २०१९ मा स्थानीय प्रहरीको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको थियो ।
ती नेपाली युवतीलाई डान्स बारमा डान्सरका रूपमा अफ्रिका लगिएको थियो। तीमध्ये दुई युवती १८ वर्षभन्दा कम उमेरका थिए। आठ जना २२ देखि २६ वर्ष उमेरका र दुई जना ३० वर्षभन्दा बढी उमेरका थिए।
पछिल्ला वर्षमा नेपालबाट मानव तस्करको फन्दामा परेर नेपाली युवती अफ्रिकी देशहरूमा डान्सरका रूपमा जाने गरेका छन्।