'पिँजडाको मान्छे' इबुकमा
सरला गौतमको निबन्ध सङ्ग्रह 'पिँजडाको मान्छे' इबुकमा सार्वजनिक भएको छ। पब्लिकेसन्स नेपालयले यस वर्ष सुजीव शाक्यको 'अर्थात् परिवर्तन' पछि दोस्रो प्राइमरी इबुकका रूपमा गौतमको कृति प्रकाशन गरेको हो।
सङ्ग्रहका निबन्धहरू आधुनिक मनुष्यको एकाकीपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा केन्द्रित छन्। पुस्तकबारे लेखक गौतमले कोभिड-१९ महामारीपछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको र यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको उल्लेख गर्दै यो अन्तरालमा पितृसत्ता, पर्यावरण, कृषि, समानताका मुद्दाहरूलाई नियाल्ने नयाँ आयाम खुलेको बताएकी छन्।
"विराटतम स्वतन्त्रताको खोजीमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजडाहरूको जञ्जालमा फस्दै गएको छ, त्यही प्रक्रियाहरूको चिन्तनको उपज हो यो पुस्तक," उनले भनिन्।
सङ्ग्रहमा पत्रपत्रिकाहरूमा पूर्व-प्रकाशित केही लामा लेखहरू पनि समेटिएका छन्।
पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले आफूहरू गद्यका उल्लेखनीय कृतिहरूमा पाठकको पहुँच थप बढाउन डिजिटल फर्म्याटमा काम गरिरहेको र 'पिँजडाको मान्छे' त्यो शृङ्खलामा पहिलो कृति भएको बताइन्। "आगामी दिनहरूमा हामी इबुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्नेछौं," उनले भनिन्।
'पिँजडाको मान्छे' को इबुक थुप्रै डटकम मार्फत किनेर पढ्न सकिनेछ। पुस्तकको मूल्य रू.१०० राखिएको छ।