साढे ६ हजार स्वाब परीक्षण गर्दा २१३ जनामा कोरोना
आज कोभिड-१९ को परीक्षण देशभर घटेको भए पनि सङ्क्रमितको सङ्ख्या भने त्यसअनुपातमा घटेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ६ हजार ६३२ जनाको स्वाब परीक्षण गर्दा २१३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। शुक्रबार १० हजार ४४६ जनाको स्वाब परीक्षण गर्दा २७० जनामा कोरोना देखिएको थियो।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। शुक्रबार कोरोनाबाट दुई जनाले ज्यान गुमाएका थिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ।
आज देशभर कोरोनाबाट ३२५ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ। अझै पनि सात हजार १५६ जना सक्रिय सङ्क्रमित छन्।
शनिबार एक लाख १५ हजार ४३४ जनालाई खोप लगाइएको छ। अहिलेसम्म ९५ लाख ४३ हजार ४०८ जनालाई पहिलो डोज र ८२ लाख ९० हजार ४०२ जनालाई पूर्ण खोप लगाइएको छ।