कांग्रेस खोटाङको सभापतिमा पौडेल समूहका राई विजयी
नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन्।
२०६२ र २०६७ सालमा सभापति बनेका राई सातौं जिल्ला अधिवेशनबाट तेस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन्।
पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतले पछि पार्दै उनी सभापति बनेका हुन्। एक हजार ३२२ मत खसेकोमा विष्णुकुमार राईले ६६९ र सर्वधन राईले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खोटाङमा विष्णुकुमार राईको प्यानल नै विजयी बनेको छ। रामचन्द्र पौडेल समूह निकट मानिने विष्णकुमार शेखर कोइराला समूहको सहयोगमा सभापति निर्वाचित भएका हुन्। सर्वधन चाहिं पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।
राईको प्यानलबाट उपसभापतिमा इवन राई ७५३ मत र तीर्थराज भट्टराई ७४२ मत ल्याएर विजयी भएका छन्। सचिवमा समीर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत पाएका छन्।
त्यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र शालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।