एकै दिन एक लाख ९६ हजारलाई खोप
दशैं-तिहारसँगै कम भएको खोप लगाउनेको सङ्ख्या शुक्रबार भने दुई लाखको हाराहारीमा पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार एकै दिन एक लाख ९६ हजार ८५३ जनाले खोप लगाएको तथ्याङ्क सङ्कलन भएको छ। केही स्थानको सङ्कलनका क्रममा छ। देशैभर खोप अभियान सञ्चालन गरिएको र यो सङ्ख्या अझै बढ्ने मन्त्रालयको भनाइ छ।
अहिलेसम्म एक करोड ७७ लाख १८ हजार ३७६ डोज खोप लगाइसकिएको छ। जसमध्ये ९४ लाख ८१ हजार ३९ जनालाई पहिलो डोज र ८२ लाख ३७ हजार ३३७ जनालाई पूर्ण खोप लगाइएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १० हजार ४४७ जनाको स्वाब परीक्षण गर्दा २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ। जसमध्ये सात हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जनामा र दुई हजार ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको हो।
कोरोना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ।
शुक्रबार ३०२ दुई जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख एक हजार ७२२ पुगेको छ।