आदिवासी ज्ञानको उत्खनन
आदिवासी ज्ञानले प्रकृतिमा उपलब्ध कुनै पनि स्रोत मासिने गरी उपयोग गर्न दिंदैन। त्यसैले जलवायु परिवर्तनको बढ्दो असर रोक्न आदिवासी समुदायका ज्ञान र आधुनिक प्रविधि मिलाएर अघि बढ्दा उपयोगी हुने पुस्तकले औंल्याएको छ।
कुमार यात्रुद्वारा लिखित परम्परागत आदिवासी ज्ञान पुस्तक भर्खरै बजारमा आएको छ। तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनले आदिवासीका विषयमा विगतदेखि नै लेख्दै आएका हुन्।
यसपालि तिनै अनुभव र नयाँ खोज-अनुसन्धान समेटेर पुस्तकको रूप दिएका छन्। यसमा दुई खण्ड छन्- विषयवस्तु र परिशिष्ट खण्ड। विषयवस्तुमा नौ वटा अध्याय र परिशिष्टमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिहरू छन्।
पुस्तकले विशेष गरी आदिवासी ज्ञान, त्यसको अभिलेखन, राष्ट्रिय-अन्तर्राष्ट्रिय सन्धि-महासन्धि, नीति र कानूनले प्रत्याभूत गरेका अधिकार, जातजातिहरूमा ती अधिकारको अवस्था जस्ता विषयको परिक्रमा गर्छ।
पुस्तकका सबलता
पुस्तकको नाम, गातामा गरिएको डिजाइन, त्यसमा राखिएको टोटोला फूलको चित्र र विषयवस्तु नै यसका सबल पक्ष हुन्। गातामा टोटोला फूलको चित्र राख्नु आफैंमा आदिवासी ज्ञानको दह्रो अभिव्यक्ति हो। सांस्कृतिक रूपमा महत्त्वपूर्ण मात्र नभएर यो फूल औषधिका रूपमा समेत प्रयोग हुन्छ।
यसलाई तामाङ समाजले पवित्र फूलका रूपमा हरेक कार्यमा प्रयोग गर्छ। स्थानीय बासिन्दाका अनुसार, ज्वरो आउँदा यो फूलले निको पार्छ। आधुनिक चिकित्सा पद्धति विकसित नभएका वेला हाम्रा पुर्खाले रोगको उपचारमा यसकै प्रयोग गर्थे।
प्राध्यापक महेन्द्र पी लामाका अनुसार, ‘बाजे बिते, एक थान जीवित पुस्तकालय लिएर गए। बज्यै बितिन्, दुई थान पुस्तकालय लिएरै गइन्।’ यो कथन विश्वकै आदिवासीको हकमा सान्दर्भिक हुन्छ।
पुस्तकमा आदिवासी लोकजीवनबारे पनि उल्लेख छ। लोकजीवनमा आर्जित ज्ञानलाई आजको सन्दर्भमा कसरी सदुपयोग, संरक्षण र प्रवर्द्धन गर्न सकिन्छ, ती उपाय सुझाइएको छ। आदिवासी ज्ञानको अभिलेखीकरण, एकस्व अधिकार (पेटेन्ट) र व्यवसायीकरणका उपायसँगै तिनका सम्भावना समेत उजागर गरिएको छ। राष्ट्रिय कानूनहरूको चर्चा, अन्तर्राष्ट्रिय महासन्धि-अभिसन्धिहरूको आलोकमा नेपालमा आदिवासी ज्ञानको अवस्था र त्यसका लागि कानूनी मार्ग पहिल्याउने दिशामा बेजोड पैरवी गर्न यात्रु सफल देखिएका छन्।
आदिवासी ज्ञानको उत्खनन
पुस्तकमा नेपालका आदिवासीहरूका पारम्परिक ज्ञानको व्यापक चर्चा-परिचर्चा छ। प्राध्यापक महेन्द्र पी लामाका अनुसार, ‘बाजे बिते, एक थान जीवित पुस्तकालय लिएर गए। बज्यै बितिन्, दुई थान पुस्तकालय लिएरै गइन्।’ यो कथन विश्वकै आदिवासीको हकमा सान्दर्भिक हुन्छ। अहिले यी पुर्खाका ज्ञान सङ्कटमा छन्। तिनको खोज-अनुसन्धान, अभिलेखीकरण र प्रकाशन अत्यावश्यक छ।
भाषाविद् अमृत योन्जन तामाङका अनुसार, ‘नेपालमा एउटा रैथाने ज्ञान छ। दोस्रो, आयातीत ज्ञान।’ बाहिरबाट भित्रिएको ज्ञानले आदिवासी ज्ञानलाई महत्त्व नदिने र त्यसलाई ‘पाखे’ को संज्ञा दिने प्रवृत्तिले गर्दा यो लोपोन्मुख छ। यस्तो सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक परिवेशबीच यात्रुले धेरैले कम ध्यान दिएको विषयमा कलम चलाउनु आफैंमा महत्त्वपूर्ण छ।
पुस्तकमा बौद्धिक सम्पत्तिको विषय उठाइएको छ। आदिवासी ज्ञानलाई बौद्धिक सम्पत्तिको सूचीमा राख्न, तिनको व्यवसायीकरण र अर्थोपार्जनका लागि पहल गर्न आह्वान गरिएको छ। त्यससँगै विदेशी कम्पनी र व्यक्तिले धमाधम यहाँका आदिवासी ज्ञानको एकस्व अधिकार लिइरहेकोतर्फ पनि पुस्तकले सजग गराएको छ। आदिवासी ज्ञानका सन्दर्भमा नेपालका विभिन्न जातजातिका ज्ञानको विवेचना पाइन्छ।
नेपालका आदिवासीले पानी, जलाधारको प्रयोग र संरक्षण कसरी गर्दै आएका छन्, उदाहरण सहित विमर्श गरिएको छ। पानी र आदिवासीको परस्पर सम्बन्ध, आदिवासीले त्यसको बहूपयोग र दिगो व्यवस्थापन कसरी गरे भन्नेबारेको अनुसन्धान उपयोगी छ।
चेपाङ, तामाङ, लिम्बू, मगर, किरात राई, राउटे, गुरुङ, थारू, छन्त्याल, डोल्पो, शेर्पा, माझी, ह्योल्मो आदिका प्रथा र परम्पराको अनुसन्धान गरी ल्याइएका प्रतिवेदनहरूलाई सन्दर्भ सामग्री सहित पस्किइएको छ। आदिवासी ज्ञान सम्बन्धी सैद्धान्तिक, नीतिगत र राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनहरूको व्याख्या-विश्लेषण गरिएको छ। यस क्रममा यात्रुले न्यूजिल्यान्डको माओरी आदिवासीको सन्दर्भ कोट्याएका छन्।
पहिलो र दोस्रो अध्यायमा सैद्धान्तिक र नीतिगत विश्लेषण गरिएको छ। अरू अध्याय नेपालका आदिवासीले अभ्यास गरेका विविध प्रथा, चालचलन र गतिविधिमा केन्द्रित छन्। तेस्रो अध्यायले घुमन्ते पशुपालन र चरन क्षेत्रको स्थलगत अवस्था र विगतको परिपाटी औंल्याएको छ।
त्यसमा खर्कको इतिहासदेखि वर्तमानसम्मका पाटामा नीतिगत विमर्श पाउन सकिन्छ। खर्कको महत्त्व सम्बन्धी ज्ञान पातलिँदै जाँदा ग्रामीण जीवनमा आएको बदलाव र त्यसले पारेको प्रभावलाई राम्ररी संश्लेषण गर्ने प्रयत्न पुस्तकमा गरिएको छ।
चौथो अध्यायमा नेपालका आदिवासीले पानी, जलाधारको प्रयोग र संरक्षण कसरी गर्दै आएका छन्, उदाहरण सहित विमर्श गरिएको छ। पानी र आदिवासीको परस्पर सम्बन्ध, आदिवासीले त्यसको बहूपयोग र दिगो व्यवस्थापन कसरी गरे भन्नेबारेको अनुसन्धान उपयोगी छ। पाँचौं अध्यायमा परम्परागत अर्थतन्त्र र ग्रामीण आर्थिक गतिविधि उल्लेख गरिएको छ।
गाउँमा चलनचल्तीमा रहेका अर्मपर्म, बाँसबाट सामानहरू बनाउने सीप र आय आर्जनका साथै बहूपयोगी बाँसलाई विभिन्न आदिवासीले कसरी प्रयोग गर्छन् भन्नेबारे उल्लेख छ। आदिवासीका पेशा, व्यवसाय र अर्थतन्त्रबारे पनि यसमा सङ्क्षिप्त जानकारी पाइन्छ।
जलवायु परिवर्तनले आदिवासी, नेपाल लगायत न्यून विकसित देशहरूलाई पारेको प्रभाव र त्यसलाई रोकथाम गर्न आदिवासीका ज्ञान, परम्परा र अभ्यासको उपादेयतामाथि चर्चा गरिएको छ।
छैटौं अध्यायमा आदिवासीका जडीबुटी, औषधिमूलोबारे उल्लेख छ। समग्रमा नेपालका आदिवासीले विगतमा अपनाएका उपचार पद्धति, तिनको महत्त्व र प्रयोग, औषधिलाई सूची सहित प्रस्तुत गरिएको छ। ल्यारी पिटर्सले आफ्नो विद्यावारिधिको शोधग्रन्थ नेपालका तामाङ वोन, वोम्वोका उपचारविधिलाई विषय बनाएर तयार पारेका थिए। उनले तामाङ समाजमा त्यसले खेलेको भूमिकाबारे अनुसन्धानमूलक तथ्यहरू ल्याएका छन्।
त्यसै गरी, डेभिड एच होम्बर्गले आफ्नो पुस्तक अर्डर इन प्याराडक्समा वोम्वोले विगतमा गाउँमा मनोवैज्ञानिक र मानसिक चिकित्सकको काम गरेको चर्चा गरेका छन्। यी सन्दर्भ पनि यात्रुले पुस्तकमा समेटेका छन्।
सातौं अध्यायमा तामाङ समुदायको आदिवासी ज्ञानबारे विस्तृत विवेचना गरिएको छ। त्यसमा जलवायु परिवर्तन, अनुकूलनका अभ्यास, तीन बाली लाउने तरीका, सामान्य खनजोत, कृषि वन, निजी वन र जडीबुटीका विषय समेटिएका छन्। आठौं अध्यायमा भूमि र परम्परागत कृषि प्रणालीबारे आदिवासीको अभ्यास, खेतीपाती सम्बन्धी विषय प्रस्तुत गरिएको छ।
आदिवासी भूमि राज्यले अतिक्रमण गरेको, किपटहरू मासिएको र सामुदायिक जग्गा, कृषि र चरन क्षेत्र सङ्कटमा पर्दै गएको विषय त्यसमा छ। नवौं अध्यायमा जलवायु परिवर्तनले आदिवासी, नेपाल लगायत न्यून विकसित देशहरूलाई पारेको प्रभाव र त्यसलाई रोकथाम गर्न आदिवासीका ज्ञान, परम्परा र अभ्यासको उपादेयतामाथि चर्चा गरिएको छ।
विश्व सङ्कट र आदिवासी ज्ञान
भर्खरै ग्लास्गोमा सम्पन्न विश्व जलवायु सम्मेलनले प्राणीजगत्मा मनुष्यद्वारा सिर्जित वातावरणीय सङ्कटबारे फेरि एक पटक बहस छेड्यो। सम्मेलनमा विश्वमै कार्बन उत्सर्जनको दर १.५ मा झार्ने सहमति जुट्यो। नेपालले पनि जलवायु परिवर्तनले निम्त्याएको सङ्कट न्यूनीकरणका लागि वन संरक्षण गर्ने लगायत प्रतिबद्धता जनाएको छ।
विकसित भनिएका देशहरूले पृथ्वीलाई दोहन गरेर सम्पूर्ण प्राणीका लागि बस्न अयोग्य बनाउँदै छन्। आधुनिक ज्ञान र विज्ञानको चमत्कारलाई कार्बन उत्सर्जनमै अत्यधिक प्रयोग गर्दा आज विश्वमा यस्तो सङ्कट निम्तिँदै छ। स्टेफन हकिङले यही गतिमा दोहन भइरहे पृथ्वी बस्न योग्य नहुने बताइसकेका छन्।
यस्तो विपत्तिबाट सम्पूर्ण प्राणीको रक्षा कुन ज्ञान र प्रविधिले गर्न सकिन्छ, आम चिन्ताको विषय छ। अहिले वैज्ञानिक, अनुसन्धाता र सारा विश्व त्यस्तो ज्ञान र प्रविधिको खोजीमा छन्। त्यसको एउटै उत्तर छ- आदिवासी ज्ञान र जीवनशैली।
आदिवासी ज्ञानले प्रकृतिमा उपलब्ध कुनै पनि स्रोतलाई मासिने गरी उपयोग गर्न दिंदैन। बरु, भविष्यमा पनि साँच्न सिकाउँछ। जस्तै- आदिवासीले शिकार गर्दा पोथी वा माउलाई मार्दैनन्। माछा मार्न विष प्रयोग गर्दैनन्। त्यसो गरे दण्डित गर्ने परम्परा छ। फुल पार्ने समयमा पनि माछा मार्दैनन्।
पृथ्वी र प्रकृतिलाई भावी पुस्ताका लागि समेत संरक्षण र संवर्द्धन गर्नु आदिवासीका प्राथमिकता हुन्। यस्तोमा पर्यावरण र पारिस्थितिकीय प्रणालीमा सन्तुलन राख्न आदिवासी ज्ञान र आधुनिक प्रविधि मिलाएर अघि बढ्नु श्रेयष्कर हुन सक्छ।
पृथ्वी जोगाउने त्यही ज्ञान र जीवनशैली समेटेर कुमार यात्रुले पुस्तक लेखेका हुन्। पुस्तकका केही सीमा हुँदाहुँदै पनि उनले आदिवासी ज्ञानको उत्खनन गर्ने प्रयास गरेका छन्। पत्रकारितामा लामो समयको अनुभवले पनि होला, लेखन समाचारमूलक/सूचनामूलक छ।
पुस्तकका दुर्बलता
यो पुस्तक सशक्त हुँदाहुँदै कमीकमजोरी पनि छन्। पढ्दै जाँदा शुद्धाशुद्धि सहितका व्याकरणिक त्रुटिहरू भेटिन्छन्। लामा-लामा वाक्य संरचनाले ठाउँ ठाउँमा पढाइ बोझिलो बन्छ। एकै खालका प्रसङ्ग विभिन्न अध्यायमा पटक पटक दोहोरिएका छन्।
राम्ररी पुस्तक सम्पादन नहुँदा प्रस्तुतीकरण, स्पष्टता र मिठास ओझेल पर्न गएको छ। भिन्नाभिन्नै सन्दर्भमा लेखिएका सामग्री एकै पुस्तकमा सङ्गृहीत गर्दा पुनः सम्पादन गरेर कैयन् हरफ काँटछाँट गर्नैपर्थ्यो। पुस्तकको ‘पेज सेटिङ’ मा पनि हेलचेक्र्याइँ देखिन्छ।