मेरो खुट्टा तान्नेहरू प्रधानमन्त्रीको खुट्टा समातिरहेका छन् : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न गाह्रो भइरहेको बताएका छन्।
चितवनमा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले आफूलाई गाह्रो गरिरहेकाहरूले नै प्रधानमन्त्री देउवालाई काम गर्न अप्ठ्यारो पारिरहेको जिकिर गरेका हुन्। मञ्चमा रहेका प्रधानमन्त्री देउवातिर हेर्दै ओलीले भने, “प्रधानमन्त्रीजीले काम गर्न खोजे पनि गर्न सकिराख्नुभएको छैन। उहाँलाई पनि काम गर्न गाह्रो भइरहेको छ।”
सरकारलाई काम गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गाह्रो पारिरहेको उनको आरोप थियो। “मेरो खुट्टा तान्नेहरू प्रधानमन्त्रीजीका खुट्टा समातिरहेका छन्। उहाँलाई पनि काम गर्न गाह्रो छ,” ओलीले भने।
अब यसरी मिलीजुली सरकार बनाउनुपर्ने अवस्था नआउने उनको भनाइ थियो। “आउँदो चुनावपछि एमालेको सरकार बन्छ। बाँकी रहेका काम पूरा गर्छ,” ओलीले भने। स्थानीय तहको चुनावमा पनि एमालेले ५० प्रतिशतभन्दा बढी ठाउँमा जित हासिल गर्ने ओलीको दाबी थियो।
उनले संविधान पनि संशोधन गर्न सकिने बताए। “हामीले बनाएको संविधान, हाम्रा लागि बनाएको संविधान, नेपाली जनताले बनाएको संविधान, नेपाली जनताका लागि बनाएको संविधान, नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकताका आधारमा, औचित्यका आधारमा संशोधन हुन सक्छ,” ओलीले भने।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह: