मलेशियालाई हराउँदै नेपाल शीर्षस्थानमा
आईसीसी महिला टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटमा मलेशियालाई पराजित गर्दै नेपाल अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
दुबईमा शुक्रबार भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गरेको छ। मलेशियाले दिएको ९३ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको हो।
नेपालका लागि सीता राना मगरले ३०, रुविना क्षेत्रीले २०, सरिता मगरले १५, कविता कुँवरले १०, इन्दु बर्माले चार र अप्सरा बेगमले एक रनको योगदान दिए। मलेशियाका लागि आइसा इलिसाले एक विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशियाले सात विकेटको क्षतिमा ९२ रन बनाएको थियो। मलेशियाका लागि एल्सा हन्टरले ३९, मस इलिसाले १४ र युस्रिना याकुपले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि आज पनि बलरले उत्कृष्ट खेल प्रदर्शन गरे। सवनव राईले दुई तथा कविता कुँवर, सीता राना मगर र रुविना क्षेत्रीले एक-एक विकेट लिए।
यो जितसँगै नेपाल ६ अङ्क सहित शीर्षस्थानमा उक्लिएको छ। नेपालले चार खेलमध्ये एकमा हार र तीनमा जित निकालेको छ।
त्यस्तै, ६ अङ्क जोडेको यूएई रनरेटका आधारमा दोस्रो स्थानमा छ। हङकङ चार अङ्क सहित तेस्रो स्थानमा छ भने मलेशिया र भुटान दुई-दुई अङ्क सहित चौथो र पाँचौं स्थानमा छन्। कुवेतले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।
नेपालले अन्तिम खेल आइतबार यूएईसँग खेल्नेछ। यूएईलाई पराजित गर्न सकेमा नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।