कांग्रेस खोटाङको मतगणना १५ घण्टापछि पुन: शुरू
नेपाली कांग्रेसको खोटाङमा स्थगित मतगणना १५ घण्टापछि पुन: शुरू भएको छ।
जिल्ला कार्यसमिति पदाधिकारीको मतगणनाका क्रममा रङ्ग उडेको (डिस्कलर्ड) मत पत्र भेटिएको भन्दै विवाद भएपछि बिहीबार राति १२ बजेदेखि स्थगित मतगणना शुक्रबार दिउँसो १ बजे पुन: शुरू भएको हो। दुवै पक्षको सहमतिमा कडा सुरक्षा व्यवस्थाका साथ दिक्तेलस्थित कांग्रेस पार्टी कार्यालयमा मतगणना शुरू गरिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सभापतिका उम्मेदवार सर्वधन राई समूहले रङ्ग उडेको मतपत्र भेटिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको थियो। विवाद शुरू गरेको राई पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष असहमतिको निवेदन नै दर्ज गरेको थियो। विवादका कारण मतगणनास्थल तनावपूर्ण बनेको थियो।
कुल खसेको एक हजार ३२२ मतमध्ये एक हजार १०० गणना भइसकेको छ। २२२ मतगणना गर्न बाँकी रहँदा सभापतिका उम्मेदवार विष्णुकुमार राई ८० मतले अगाडि छन्। पूर्व सभापति समेत रहेका विष्णुकुमारले ५७१ मत पाउँदा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका सर्वधन राईले ४९१ मत पाएका छन्। विष्णुकुमारको प्यानलले नै अग्रता कायम राखेको छ।
हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै विवाद निकालिएको विष्णुकुमार पक्षको आरोप छ। सभापतिका उम्मेदवार विष्णुकुमार र सर्वधन क्रमशः पौडेल र देउवा निकट हुन्।