सरकारलाई सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई साथ दिन नेकपा (एमाले)लाई आह्वान गरेका छन्।
शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले सबै मिलेर देश र जनताका लागि काम गर्नुपर्ने बताए। “देश र जनताका मुद्दामा सबै दल एक हुनुपर्छ,” प्रधानमन्त्री देउवाले भने, “यसमा एमालेले साथ दिनुपर्छ।”
उनले सबै मिलेर लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन्। “सबै मिलेर नयाँ संविधान ल्याएका छौं। यसलाई संस्थागत गरी बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको हो,” प्रधानमन्त्री देउवाले भने।
उनले देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता गरेका छन्। “देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरामा प्रतिबद्ध छु,” देउवाले भने, “यसमा सहयोग गर्न संसद्भित्र र बाहिर रहेका दललाई आग्रह गर्दछु।”