वैदेशिक रोजगारीमा महिला: देश बाहिर पनि दलालकै डर
वैदेशिक रोजगार विभागका अनुसार, सुदूरपश्चिमबाट मात्र आठ हजार तीन सय २२ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमा तीन सय २५ जना महिला छन्।
कैलालीको घोडाघोडी नगरपालिका-४, रामपुरकी मनीषा चौधरी श्रीमान्काे कुटाइ सहन नसकेपछि घरेलु कामदारको रूपमा कुवेत उडिन्। कुवेत त उडिन्, तर त्यहाँ पनि उनलाई शान्ति भने मिलेन। दैनिक २१ घण्टासम्म काम गर्थिन्, तर तलब अत्यन्त न्यून थियो।
पीडा सहेरै जसोतसो काम गरिरहेकै थिइन्। यता श्रीमान्ले दोस्रो बिहे गरेको खबर पाइन्। मनीषा भक्कानिंदै भन्छिन्, “म विदेश भएको वेला श्रीमान्ले दोस्रो विवाह गरे। दुई वर्षपछि नेपाल फर्कें। घरमा सौता छे, श्रीमान्ले उल्टै मलाई नै घरबाट निकाला गरिदिए।”
विदेशमा रहँदा यसले परपुरुषसँग अनैतिक सम्बन्ध राखी होली भन्थे। यस्ता कुरा सुन्दा मनीषा चौधरीलाई मन थाम्नै गाह्रो हुन्थ्यो। तर, उनी विचलित चाहिं भइनन्।
“उता छिमेकीहरू पनि मेरै कुरा काटिरहेका हुन्थे,” मनीषा दुखेसो पोख्छिन्, “वैदेशिक रोजगारीमा जाने महिलालाई निकै सास्ती छ, समाजबाटै बहिष्कृत हुनुपर्ने रहेछ।”
विदेशमा रहँदा यसले परपुरुषसँग अनैतिक सम्बन्ध राखी होली भन्थे। यस्ता कुरा सुन्दा उनलाई मन थाम्नै गाह्रो हुन्थ्यो। तर, उनी विचलित भइनन्।
श्रीमान्ले घरबाट निकालिएकी उनी वैदेशिक रोजगारीमा कमाएको पैसाले ऐलानी जग्गामा घर बनाएर बसेकी छन्। तीन बच्चा पढाउने र हुर्काउने जिम्मा उनकै काँधमा छ।
मनीषा विदेशमा पनि दलालको फन्दामा परिन्। कमाएको आधा पैसा दलालले खाइदिएको उनी बताउँछिन्।
यस्तै, लम्कीचुहा नगरपालिका–३, बादी बस्तीकी चिन्तादेवी बादीले पनि वैदेशिक रोजगारीको गन्तव्य रोजिन्। यो बस्तीका धेरै महिला वैदेशिक रोजगारीमा छन्। जङ्गल किनारमा बनाएको ससानो झुपडीमा हुर्कंदै गरेका बालबालिकाहरूको उज्ज्वल भविष्यको सपना बुन्दै चिन्तादेवी पनि विदेश हानिएकी थिइन्।
घरमा श्रीमान् बेरोजगार, सधैंको कचकचसँगै गरीबीले जीवन धान्नै मुश्किल भएपछि उनी विदेश गएकी हुन्। ३५ वर्षीया चिन्तादेवीलाई वैदेशिक रोजगारीले कुवेततिर डोर्यायो। दुईवर्षे दुधे बालकलाई श्रीमान्को जिम्मा लगाई तीन वर्ष अगाडि भारतको बाटो भएर कुवेत पुगिन्।
“कञ्चनपुरकी थापा थरकी एक महिलाले कुवेतमा धेरै तलब र सेवा–सुविधा राम्रो हुन्छ भनेपछि जान राजी भएँ,” सधैं आर्थिक अभावमा बाँचेकी चिन्तादेवीलाई अवसर राम्रो लागेकाले छोड्न मन लागेन।
उनी कुवेतमा घरेलु कामदारका रूपमा एउटा घरमा काम गर्न थालिन्। आठ जनाका लागि खाना पकाउने, घरको सरसफाइ गर्ने, कपडा धुने लगायत काम गर्नुपर्थ्यो। तर, त्यहाँको भाषा, चालचलन, कानून, धर्म-संस्कृतिबारे जानकार नहुँदा एक वर्षसम्म नसोचेको दुःख पाइन्।
मासिक तलब करीब ३१ हजार रुपैयाँ (८० दिनार) थियो। जानुअघि दलालले भने जस्तो खाने-बस्ने सुविधा थिएन। काम भने थेग्नै नसक्ने हुन्थ्यो।
श्रम स्वीकृति विना अवैध ढङ्गले गएकाले सबै पीडा सहेरै जसोतसो काम गरेको उनी सुनाउँछिन्। काम अनुसारको तलब नदिने हो भने नेपाल फर्काइदेऊ भन्दा उल्टै मालिक्नीको कुटाइ खानुपर्यो।
“मालिकको छोरो रक्सी खाएर प्रायः अबेर आउँथ्यो। उसकै लागि राति १२–१ बजेसम्म जागा बस्नुपर्थ्यो। एक वर्षसम्म जसोतसो काम गरे पनि मालिक्नी र उसको छोराको व्यवहारले त्यहाँ बस्न सकस भयो,” चिन्तादेवी भन्छिन्।
“मालिकको छोरो रक्सी खाएर प्रायः अबेर आउँथ्यो। उसकै लागि राति १२–१ बजेसम्म जागा बस्नुपर्थ्यो। एक वर्षसम्म जसोतसो काम गरे पनि मालिक्नी र उसको छोराको व्यवहारले त्यहाँ बस्न सकस भयो।”
उनी तीन-चार महीनाको तलब माया मारेर नेपाली दूतावास पुगिन्, तर दूतावासले उल्टै मालिकलाई फोन गरी उसैको जिम्मा लगाइदियो। अनि साथमा भएको करीब ६३ हजार रुपैयाँ (१६० दिनार) पनि मालिकले नै खोस्यो।
दोस्रो पटक भागेर एयरपोर्ट पुगिन्। वैदेशिक रोजगारीबाट नेपाल फर्किरहेकी थारू समुदायकी एक महिलाको सहयोगमा नेपाल आउन सफल भइन्। नेपाल त आइन्, तर विदेश जानुअघि सोचेको सपना घर पुग्दा भने उस्तै नै थियो।
उनी दोस्रो पटक ओमन गइन्। त्यहाँ पनि सम्झौता अनुसारको तलब नपाउँदा कोरोना महामारीको पहिलो चरण शुरू हुनु अगावै नेपाल फर्किइन्।
लम्कीचुहा नगरपालिका-३, बलचौरकी ३६ वर्षीया गीतादेवी बादी र २५ वर्षीया विष्णादेवी बादीकोे पीडा पनि कम छैन। तीन वर्ष कुवेत बसी घर फर्किएकी गीतादेवी वैदेशिक रोजगारीमा रहँदाका दिन कहिल्यै भुल्न नसक्ने बताउँछिन्।
भारत तथा श्रीलंकाको बाटो हुँदै दलाल मार्फत कुवेत पुगेकी उनी एउटा काम बिग्रँदा दश लात, दश बात सहनुपरेको बताइन्। पीडा हुँदा रुन समेत नपाएको बताउने गीतादेवीले बिहान ४ बजेदेखि राति १२ बजेसम्म मासिक ८० दिनारमा काम गरिन्।
त्यस्तै, घर खर्च जोहो गर्न कुवेत पुगेकी विष्णादेवी पनि श्रम शोषणमा परेर एक वर्षभन्दा बढी टिक्न सकिनन्। उनी पनि भागेर नेपाल फर्किइन्।
दैनिक आठ घण्टा काम गर्ने भनेर सहमति गरे पनि १५-१६ घण्टाभन्दा बढी समय काम गर्नुपरेको र तलब चाहिं ८० दिनार मात्रै दिइएको विष्णा बताउँछिन्।
मुटुका रोगी श्रीमान्ले नौ वर्षअघि देहत्याग गरे। घरमा १२ वर्षीय छोरा र १० वर्षीया छोरीलाई छोडेर कुवेत उडेकी उनी विदेश पुगेपछि भने ठगिइन्। विष्णादेवी भन्छिन्, “भारतको बाटो भएर वैदेशिक रोजगारीमा जाने महिलाहरूमध्ये शारीरिक रूपमा अशक्त, विदेशबाटै बच्चा बोकेर फर्किने, गर्भवती अवस्थाका र मानसिक रूपमा विक्षिप्त अवस्थामा फर्किन लागेका धेरैसँग एयरपोर्टमा भेट भयो।”
लम्कीचुहा नगरपालिका-३, बलचौरकी वडा सदस्य पार्वतीदेवी बादीले बलचौरका बादी समुदायका धेरै महिला वैदेशिक रोजगारीमा जाने गरेको बताइन्। पार्वती भन्छिन्, “यहाँका प्रायः महिलाहरू दलाल मार्फत भारतीय बाटोको प्रयोग गर्ने र उहींबाट दलालको चङ्गुलमा परी खाडी मुलुक पुग्ने गर्छन्।”
बलचौरको बादी समुदायका १५ जना महिला चालू आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् भने आठ जनाको भिसाको म्याद सकिएर अवैध हुँदा फर्किन पाएका छैनन्।
घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूका लागि सरकारले निःशुल्क भिसा, निःशुल्क टिकट भनेको छ। तर, यहाँका महिला श्रम स्वीकृति नलिई दलाल मार्फत खाडी मुलुक गइरहेको पार्वतीदेवी बताउँछिन्।
अहिलेसम्म बलचौरकी एक बादी महिला मात्र कम्पनीमा काम गर्ने भनेर श्रम स्वीकृति लिई कतार पुगेकी छिन्।
“कम्पनीमा काम गर्न श्रम स्वीकृति लिएर विदेश जाँदा एक/डेढ लाख रुपैयाँ लाग्छ। बादी समुदायसँग त्यत्रो पैसा जुटाउन सक्ने क्षमता छैन। अनि महिलाहरू दलालको चङ्गुलमा परेर भारतीय बाटो रोज्न पुग्छन् र ठगिन्छन्,” वडा सदस्य पार्वतीदेवीले भनिन्।
श्रम स्वीकृति विनै वैदेशिक रोजगारीमा
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार तीन सय ८३ जनाले राहदानी सिफारिश लिएका छन्। जसमा ६१३ महिला र एक हजार सात सय ७० जना पुरुष छन्।
त्यस्तै, चालू आर्थिक वर्ष २०७८/०७९ को १५ असोजसम्म एक हजार ५८ जनाले राहदानी सिफारिश लिएको र राहदानीका लागि सिफारिश लिएकामध्ये प्रायः वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि लिइरहेको जिप्रका, कैलाली राहदानी फाँटका नासु रामप्रसाद ज्ञवालीले बताए।
घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूका लागि सरकारले निःशुल्क भिसा, निःशुल्क टिकट भनेको छ। तर, बलचौर (लम्कीचुहा नपा–३, कैलाली)का महिला श्रम स्वीकृति नलिई दलाल मार्फत खाडी मुलुक गइरहेको वडा सदस्य पार्वतीदेवी बादी बताउँछिन्।
कैलालीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म वैदेशिक रोजगारीमा जानका लागि दुई हजार एक सय २४ जनाले फारम दर्ता गरी परामर्श लिएको तथ्याङ्क छ। जसमा महिलाको सङ्ख्या पाँच सय ८० र पुरुषको सङ्ख्या एक हजार पाँच सय ४४ छ। त्यस्तै, सन् २०२१ जनवरीदेखि सेप्टेम्बरसम्म एक हजार सात सय नौ जनाले वैदेशिक रोजगारीका लागि फारम दर्ता गरी परामर्श लिएका छन्। जसमा महिलाको सङ्ख्या पाँच सय ५५ र पुरुषको सङ्ख्या एक हजार एक सय ५४ छ।
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, धनगढीमा आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका क्रममा दलालबाट ठगिएको, कम्पनीले तोके अनुसार पारिश्रमिक नदिएको सम्बन्धी २६ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको तथ्याङ्क छ।
त्यस्तै, १६ असोज २०७८ सम्म सूचना केन्द्रमा ११ वटा मुद्दा दर्ता भएर दुई वटाको किनारा लागिसकेको र नौ वटा प्रक्रियामा छन्।
श्रम तथा रोजगार कार्यालय, धनगढीबाट आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ९६ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा ११ जना महिला र ६ सय ८५ जना पुरुष छन्।
चालू आर्थिक वर्ष २०७८/०७९ को साउन महीनामा एक महिला सहित ३९ जना र भदौ महीनामा एक महिला सहित ३८ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ।
त्यसैगरी, आव २०७६/०७७ मा ४० जना महिला, दुई हजार तीन सय २१ जना पुरुष र आव २०७५/०७६ मा १४ जना महिला र एक हजार पाँच सय १५ जना पुरुषले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाएको छ।
वैदेशिक रोजगार विभागका अनुसार, सुदूरपश्चिमबाट मात्र आठ हजार तीन सय २२ जना वैदेशिक रोजगारीमा गएका छन् जसमध्ये तीन सय २५ जना महिला छन्।
दलालहरू चतुर्याइँका साथ महिलाको मनोविज्ञान बुझ्छन्
गणेश गुरुङ, समाजशास्त्री
वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने महिलाहरू घरेलु कामदारका रूपमा जाने गर्छन्। यसरी जानेहरूमध्ये बढीजसो घरेलु हिंसामा परेका, कम पढेलेखेका, गरीब परिवार र पहुँच नभएकाहरू हुन्।
अहिले दलालहरूको ठूलो नेटवर्क छ, त्यो नेटवर्कभित्र महिलाहरू पनि जोडिएका छन्। त्यही नेटवर्कभित्रका दलाल महिलाहरूले सोझा तथा आर्थिक रूपमा कमजोरहरूलाई प्रभावमा पारी विना श्रम स्वीकृति विदेश पठाइरहेका छन्।
दलालहरू एकदमै चतुर्याइँका साथ आर्थिक रूपमा कमजोर महिलाहरूको मनोविज्ञान बुझ्छन् र महिला दलालको नेटवर्कसम्म सम्पर्क गराई ललाई फकाई गर्न सफल हुन्छन्।
हिंसा प्रभावित, कम पढेलेखेका र आर्थिक अवस्था कमजोर भएकालाई काम र पैसासँग मात्रै सरोकार हुन्छ। त्यस्ता महिलाहरूलाई वैदेशिक रोजगारीमा जाँदा कसरी सुरक्षित हुनुपर्छ भन्नेबारे ज्ञान हुँदैन। जसका कारण उनीहरू सहजै दलालको फन्दामा पर्छन्।
सरकारले महिलाहरूलाई जीविकोपार्जनतर्फ उन्मुख गराउने नीति ल्याउनुपर्छ। महिलाहरूलाई जनचेतनामूलक कार्यक्रमसँगै, आर्थिक सशक्तीकरणको कार्यक्रम ल्याएमा कुनै पनि महिला रोजगारीका लागि बाध्यतावश विदेश जानु पर्दैन।