लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्छ : ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
शुक्रबार चितवनमा आयोजित एमाले १४औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका हुन्।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहँदा संविधान संशोधन गर्ने लगायत सम्झौता भएको उल्लेख गर्दै अब त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।
“हाम्रा सांसद जेलमा छन्, नेता तथा कार्यकर्ता तारिख बोकिरहेका छन्,” ठाकुरले भने, “अब सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।”
मधेशमा माग सम्बोधन नभए फेरि आन्दोलन हुनसक्ने उनको भनाइ थियो। “फेरि मधेशमा आन्दोलन हुने अवस्था आउन नदिने सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छु,” ठाकुरले भने।