नेपालमा विदेशी चलखेल बढेको छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्।
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै थापाले त्यसलाई कम्युनिष्ट आन्दोलनको महाकुम्भ भनेका छन्। “नेपाली कम्युनिष्ट आन्दोलनको महाकुम्भमा सहभागी हुन पाउँदा खुशी लागेको छ,” थापाले भने, “नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति हो।”
उनले सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गरे। “सनातन धार्मिक-सांस्कृतिक पहिचानलाई समाप्त पार्न खोजिएको छ,” थापाले भने।
अहिले भ्रष्टाचार र बेरोजगारी बढेको उनको भनाइ थियो। जसले गर्दा ४० लाखभन्दा बढी नेपाली विदेशमा रगत र पसिना बगाउन बाध्य भएको उनको भनाइ थियो।
देशलाई सङ्कटबाट जोगाउन साहसिक निर्णय गर्नुपर्ने उनको भनाइ थियो। “बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेर गएको छ,” थापाले भने। उनले यसलाई रोक्न एमाले महाधिवेशनले ऐतिहासिक निर्णय लिने आशा गरेको बताए।