प्रधानन्यायाधीशबारे गठबन्धनका नेतासँग छलफल गर्छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विषयमा सत्तारूढ गठबन्धनका नेतासँग छलफल गर्ने बताएका छन्।
नेपाल बार एसोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्तासँगको भेटमा प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको विवाद सुल्झाउन छलफल गर्ने बताएका हुन्। ज्ञापनपत्र बुझाउन र सर्वोच्च अदालतको विवादबारे जानकारी दिन बारका पदाधिकारी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवाले विवाद समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्। “सर्वोच्च अदालतमा देखिएको विवादबारे मलाई जानकारी छ, तपाईंहरूले पनि जानकारी गराउनुभयो,” प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बार उपाध्यक्ष बस्यालले हिमालखबरसँग भनिन्, “अहिले गठबन्धनको सरकार छ, यस विषयमा गठबन्धनका नेतासँग छलफल गर्छु।”
बारको टोलीले सर्वोच्च अदालतको समस्याबारे जानकारी गराउँदै निकासका लागि पहल गरिदिन आग्रह गरेको थियो। न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा चलिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेको श्रेष्ठले बताए। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायी आन्दोलनमा छन्।
सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक-दुई दिनमा नै निकासका लागि दृष्टिकोण सार्वजनिक गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता गरेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई बताए।
भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वोच्च बार एसोसिएशनका पदाधिकारी, बारका पूर्व अध्यक्षहरू, पूर्व महासचिवहरू, पूर्व महान्यायाधिवक्ता, पूर्व सभामुख लगायत उपस्थित थिए।