चीनलाई पुलपुल्याउँदा आहत अमेरिका
पछिल्लो समय चीन महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत अघि बढेको छ। अमेरिका–चीन द्वन्द्वका बाछिटाहरू विश्वमा पर्न थालेको छ। यति हुँदाहुँदै यी दुवै देशको आर्थिक सम्बन्ध यसरी जोडिएको छ कि दुवै एक–अर्कालाई अलग्याउनै सक्दैनन्।
सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर चीनको गोप्य भ्रमणमा गए। भ्रमणको उद्देश्य थियो, दुई साम्यवादी मुलुक तत्कालीन सोभियत सङ्घ र चीनबीच फाटो ल्याउनु। भूगोल र सैन्य शक्तिले मजबूत दुवै मुलुक एक भएमा अमेरिकाले शीतयुद्ध जित्न सम्भव थिएन।
चीनलाई अमेरिकाको अप्रत्यक्ष मित्र बनाउने र सोभियत सङ्घलाई एक्ल्याउने रणनीतिमा निक्सन र किसिन्जर सफल भए। ५० वर्षअघिको किसिन्जर भ्रमणले अमेरिका र चीनबीच सम्बन्ध सुधार मात्र गरेन, अमेरिकी साम्राज्यवादको विदेश नीतिमा महत्त्वपूर्ण परिवर्तन ल्याउँदै विश्व इतिहासकै कोर्स बदल्यो।
त्यस वेलासम्म चीनलाई अमेरिकाले मान्यता दिएको थिएन। दोस्रो विश्वयुद्धपछि चिनियाँ गृहयुद्धमा माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको सेनासँग चीनको मुख्य भागमा पराजित भएर भागेका चिनियाँ राष्ट्रवादी पार्टी (कुओमिन्ताङ)का नेता च्याङ काइसेक ताइवान गएर त्यहाँको सत्ता सम्हाले। अमेरिकाले ताइवानलाई मान्यता दियो, जसका कारण उसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यता पनि पाएको थियो। तर, अमेरिका र चीनको नयाँ सम्बन्धले विश्व भूराजनीतिमै परिवर्तन ल्यायो।
किसिन्जरपछि सन् १९७२ मा राष्ट्रपति निक्सनले चीनको भ्रमण गरे। त्यस क्रममा माओ र चाउ एन लाईसँग वार्ता भयो। ताइवानलाई होइन, चीनलाई मान्यता दिने सहमति भयो। साङ्हाई वक्तव्य जारी हुँदा कूटनीतिको यो खेलबारे थाहा पाएर जापान, भारत, दक्षिणपूर्वी एशिया र रुसमा नयाँ संशय पैदा भयो।
राष्ट्रसङ्घको सुरक्षा परिषद्मा ताइवानको सट्टा चीन आयो। अमेरिकाबाट चीनले आर्थिक लगानी, प्रविधि र शैक्षिक ज्ञान मार्फत आधुनिकीकरण गर्ने मौका पायो। हुन त राष्ट्रपति जोन एफ केनेडीको पालादेखि नै चीनसँग सम्बन्ध सुधारका सोचहरू नआएका होइनन् । तर, राष्ट्रपति निक्सनको पालामा सम्बन्ध सुधारको कदमले सफलता पायो।
चतुर किसिन्जर अमेरिकाका शीतयुद्धकालीन विदेश नीति निर्माणका प्रमुख व्यक्ति थिए। दुवैको साथ मिलेको हुनाले चीन भ्रमण सम्भव भयो। त्यस वेला अमेरिका भियतनाम युद्धमा नराम्ररी फसेको थियो, कोरिया प्रायद्वीपको युद्धमा चीनसँग लडेको थियो, सोभियत सङ्घसँग आणविक हतियारको होडबाजीमा थियो। उता चीनमा माओको ‘अग्रगामी छलाङ’ आर्थिक कार्यक्रम, सांस्कृतिक क्रान्ति र भोकमरीका कारण लाखौं मानिसको मृत्यु भएको थियो भने देश आर्थिक मन्दीको भासमा थियो। यस्तै, सोभियत सङ्घसँग सीमायुद्ध थियो। सन् १९५९ मा दलाई लामा तिब्बत छोडेर भारतमा शरण लिइरहेका थिए।
यस्तो उथलपुथलको समयमा चीन असुरक्षित महसूस गरिरहेको थियो। तसर्थ, ऊ अमेरिका जस्तो महाशक्तिसँग हातेमालो गर्न वैचारिक मतभेदका बावजूद राजी भयो। जसबाट विगत ५० वर्षमा चीनले असाधारण सहानुभूति र फाइदा लियो। आज त्यही चीन अमेरिकालाई चुनौती दिने शक्ति राष्ट्र भएको छ।
के किसिन्जरको कूटनीति आज अमेरिकालाई प्रत्युत्पादक भएको हो? सन् १९७१/७२ मा अमेरिकाले सम्बन्ध सुधारको कदम नचालेको भए चीनको उदय सम्भव थियो? यिनै इतिहास र वर्तमानका प्रश्नहरूको विश्लेषण गरेका विभिन्न विद्वान्का १९ वटा लेखको सङ्कलन हो, अ न्यू कोल्ड वारः हेनरी किसिन्जर एन्ड द राइज अफ चाइना । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार रहेका डा. सञ्जय बारू र राहुल शर्माले सम्पादन गरेको यस पुस्तकमा भारत, पाकिस्तान, सिङ्गापुर, दक्षिण कोरिया, रुस र फ्रान्सका विदेश मामिलाका विद्वान्हरूको लेख समाविष्ट छन्।
हार्वर्ड विश्वविद्यालयमा दुई दशक प्राध्यापन गरेका किसिन्जर कूटनीति र विद्वत्ताका सङ्गम हुन्। उनी अन्तर्राष्ट्रिय मामिलामा ‘यथार्थवादी व्यवहारवाद’ (रियालिस्टक प्राग्मटिजम्) का अभ्यासकर्ता हुन्। अमेरिकाले आफ्नो विदेश नीतिमा यो विचारधारा छाडेर शीतयुद्धयता ‘उदार आदर्शवाद’ (लिबरल आइडियालिज्म)को नीति अवलम्बन गरेका कारण ऊ क्षयीकरणको बाटोमा रहेको निष्कर्ष सिङ्गापुरका कूटनीतिज्ञ किशोर माहाबुवानीले गरेका छन्। शीतयुद्धयताका अमेरिकी कदमहरू इराक युद्ध, अफगानिस्तान कब्जा र आतङ्कवाद विरुद्धको लडाइँका गलत क्रियाकलापबाट चीनले फाइदा लिएको उनको विश्लेषण छ।
विश्व आज पुनः दुई ध्रुवमा आइपुगेको भारतीय विद्वान् क्रान्ति बाजपेयीको विश्लेषण छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले बहुध्रुवीय विश्वको निष्कर्ष निकाले पनि त्यो सही नभएको उनी टिप्पणी गर्छन्। जापानका तुसुटोमी किकोची अन्तर्राष्ट्रिय नियम नमान्ने चिनियाँ व्यवहारका कारण जापानले खतरा महसूस गरेको धारणा राख्छन्।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफूलाई बेस्टफेलियाको राष्ट्र राज्यको अवधारणाभन्दा बेग्लै सभ्यतागत राष्ट्र मान्छ, र हो। एक अर्ब ४० लाख जनसङ्ख्या भएको यो मुलुकको सिमाना १४ छिमेकीसँग गाँसिएको छ। चिनियाँ शासकहरू चीन अमेरिका जस्तै अपवादको देश भन्न रुचाउँछन्।
किसिन्जरको सन् १९७१ को भ्रमण पश्चात् ५० वर्षमा उदाएको चीन आज आर्थिक, प्राविधिक र सैन्य शक्ति आदिले सुसज्जित राष्ट्र हो । उक्त कूटनीतिको असाधारण कदमबाट सिर्जित तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन, नयाँ ध्रुवीकरण ल्याइरहेको छ।
पुस्तकमा कतिपय विद्वान्हरूले अमेरिकी नीति निर्माताहरूले चीनलाई अमेरिकाले शीतयुद्ध र त्यसपछि पुलपुल्याएको दाबी गरेका छन्। जस्तो कि, राष्ट्रपति क्लिन्टनको पालामा चीनलाई विश्व व्यापार सङ्घको सदस्यता दिइयो। जसमा अमेरिकी राजनीतिक वृत्तमा किसिन्जरले लबिइङ गरेका थिए। उनले सन् १९८९ को तियान्मेन नरसंहारपछि चीनलाई नाकाबन्दी गर्न नहुने पनि भने। उनी किसिन्जर एशोसिएट्स संस्था मार्फत चीनबाट आर्थिक शुल्क लिएर लबिइङ गर्छन्।
किसिन्जर निक्सनदेखि डोनाल्ड ट्रम्प र चीनका माओदेखि सी चिनफिङसम्म पहुँच भएका राजनेता हुन्। किसिन्जरले अन चाइना (सन् २०११) पुस्तक नै लेखे, जसमा उनले चीन–अमेरिका सम्बन्धको विवरण दिंदै दुवै राष्ट्र सहविकासमा प्रशान्त समुदाय बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।
आज चीनको अप्रत्याशित उदयले एशियामा भारत सबैभन्दा धेरै चिन्तित छ। चीनसँगको सीमा विवाद, दलाई लामाको उपस्थिति र पाकिस्तानसँग सबै मौसमको मित्रता आदि भारतका चिन्ता हुन्, जसका विषयमा भारतीय लेखकहरूले पुस्तकमा चर्चा गरेका छन्। सम्पादक सञ्जय बारूले त किसिन्जरले चीनलाई अमेरिका बेचेको आरोप सहित उत्तेजक लेख लेखेका छन्। चीन–अमेरिकाको मित्रताले गर्दा सन् १९७१ मा भारत तत्कालीन सोभियत सङ्घसँग रणनीतिक सैन्य गठबन्धन गर्न गयो। बाङ्लादेशको स्वतन्त्रता सङ्ग्राममा पाकिस्तानको तर्फबाट अमेरिकी हस्तक्षेपको डर पनि थियो। आज चीनको आक्रामक व्यवहारबाट पूर्वी एशिया, भारत, जापान, अस्ट्रेलिया सबै चिन्तित छन्।
पछिल्लो समय चीन महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत अघि बढेको छ। अमेरिका–चीन द्वन्द्वका बाछिटाहरू विश्वमा पर्न थालेको छ। यति हुँदाहुँदै यी दुवै देशको आर्थिक सम्बन्ध यसरी जोडिएको छ कि दुवै एक–अर्कालाई अलग्याउनै सक्दैनन्। तर, नयाँ शीतयुद्ध शुरू भइसकेको छ, जुन दक्षिण चिनियाँ सागर (साउथ चाइना सी), ताइवान क्षेत्र, उत्तर कोरियाका आणविक प्रकरणहरूमा देखिएको छ।
चीनलाई नियन्त्रण गर्ने अमेरिकी उद्देश्य अनुसार पूर्वी एशियामा अतिरिक्त ध्यान दिंदै राष्ट्रपति बाराक ओबामा प्रशासनले ‘पिभोट टु एशिया’ रणनीति ल्याएको थियो। ओबामापछि डोनाल्ड ट्रम्पले चीनको विस्तार रोक्न अघि बढाएको इन्डो–प्यासिफिक रणनीतिलाई हालका राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता दिएका छन्, जसमा भारत लगायत अमेरिकाका सहयोगी राष्ट्रहरू समावेश छन्।
सन् १९७२ को खेलबाट अमेरिका पछुताउँछ कि अब अर्को महाखेलको तयारीमा लाग्छ? यो प्रश्न रहस्यमै छ। तर, इतिहास र वर्तमानका विविध आयामको रहस्य भने यस पुस्तकले खोलेको छ।
पुस्तकः अ न्यू कोल्ड वार सम्पादकः सञ्जय बारू र राहुल शर्मा प्रकाशकः हार्पर कोलिन्स इन्डिया पृष्ठः २३५ मूल्यः भारु ७९९