जसपाले गर्यो सांसद प्रदीप यादवलाई कारबाही
जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवलाई अनुशासनको कारबाही गरेको छ।
अध्यक्ष उपेन्द्र यादवको विरोध गरेका सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको छ। उनलाई बुधबार केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा झारिएको जसपाले जनाएको छ।
उनलाई अनुशासनको कारबाही गरिएको एक नेताले बताए। “पार्टीबाट निष्काशन गर्ने तयारी थियो, तर सांसद पद जाने भएकाले साधारण सदस्यमा झारिएको हो,” ती नेताले भने।
जसपाबाट गठबन्धन सरकारमा मन्त्री नबनाएको भन्दै सांसद यादवले विरोध गरेका थिए। उनी निकट कार्यकर्ताले वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला समेत जलाएका थिए।
कारबाहीमा परेका सांसद यादवले पार्टीले गरेको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिए। उनले हिमालखबरसँग भने, “पार्टीको निर्णयलाई सम्मान गर्छु, तर यसमा मेरो कुनै गल्ती छैन।”
उनको ठाउँमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्य बनाइएको छ। सरावगीसँगै रामबाबु यादव, सूर्यनाथ यादव, विकास तिवारी र चन्देश्वर सदालाई पनि जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।
जसपा बैठकमा प्रदेश २ को मन्त्रीबाट हटाइएका राम नरेश यादवका विषयमा पनि छलफल भएको थियो। एक नेताका अनुसार, उनलाई पदमुक्त गर्ने प्रक्रिया उपयुक्त नभएको नेता महेन्द्र यादवले बताएका थिए।