विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो
विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ ।
नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जंगलको सल्ली रूखमा लगाएको गुँडमा दुर्लभ गिद्धले चल्ला कोरलेको हो ।
त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जंगलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण संघका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए ।
दुई\तीन वर्षअघि सुन गिद्धले सोही जंगलमा अण्डा काढे पनि चल्ला भने कोरल्न सकेको थिएन । स्थानीयवासीका अनुसार सुन गिद्धले वर्षको एकपटक मात्र बच्चा कोरल्छ ।
जथाभावी वन फडानी, आगलागी वन अतिक्रमण लगायतका कारण यसको बासस्थान नास भई संकटमा परेको छ ।
विश्वमै संकटासन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु सुखद खबर भएको पक्षी संरक्षणकर्मी सिंहले जानकारी दिए । जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताए ।
एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध छ, सुन गिद्ध दुई र सेतो गिद्ध चार फेला परेका छन् ।
पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । यस जिल्लामा यो औषधि अन्य जिल्लाको तुलनामा कम प्रयोग हुने भएकाले यहाँ गिद्धको वासस्थानको दृष्टिकोणले उपयुक्त देखिएको चराविद् बरालको भनाइ छ ।
सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको हो । गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले वैशाखमा चल्ला कोरलेको उनले जानकारी दिए ।
सुन गिद्धको वासस्थान रहेको महादेवस्थान गोठथात जंगलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महीनामा तीनपटक अध्ययन टोली गइरहेको छ।