सभामुख सापकोटाको निमन्त्रणा खारेज गर्न २५ संस्थाको आग्रह
जवाफदेहिता निगरानी समिति लगायत २५ वटा संघसंस्थाले सभामुख अग्निप्रसाद सापकोटालाई १४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न इन्टरनेशनल पार्लियामेन्टरी युनियन (आईपीयू)लाई आग्रह गरेका छन्।
संस्थाहरूले बुधबार आईपीयूका अध्यक्ष डुआर्टो पाचेकोलाई ज्ञापनपत्र मार्फत यस्तो आग्रह गरेका हुन्। ती संस्थाहरूले २६ देखि ३० नोभेम्बरमा स्पेनको मड्रिडमा आयोजना हुने सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न आग्रह गरेका छन्।
काभ्रेका अर्जुनबहादुर लामाको हत्या सम्बन्धी मुद्दाका अभियुक्त सापकोटा ‘युनिभर्सल जुरिस्डिक्सन’ अनुसार यस्तो सभामा सहभागी हुन अयोग्य रहेको ती संस्थाहरूको ठहर छ।
मानव अधिकार तथा द्वन्द्वपीडितहरूसँग सम्बन्धित ती संस्थाहरूले स्पेनको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित स्पेनी दूतावासलाई समेत ज्ञापनपत्र मार्फत सापकोटालाई प्रवेश अनुमति नदिन आग्रह गरेका छन्।
शान्ति सम्झौता भएको डेढ दशक भइसक्दा पनि नेताहरू सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन गम्भीर नभएपछि आफूहरूले यस्तो आग्रह गर्नुपरेको समितिका संयोजक चरण प्रसाईं बताउँछन्। “नेपालका नेताहरूलाई सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन दबाब पुगोस् भनेर ज्ञापनपत्र बुझाएका हौं,” संयोजक प्रसाईंले हिमालखबरसँग भने, “राष्ट्रकै भविष्यसँग जोडिएको विषय हो।”