जसपामा दुई अध्यक्ष बनाउन माग, पदमुक्त गरिएका मन्त्रीले मागे मुख्यमन्त्रीको राजीनामा
जनता समाजवादी पार्टी (जसपा)को जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागिएको छ।
जसपाभित्र डा. बाबुराम भट्टराई पक्ष र महेन्द्र यादव पक्षले अध्यक्ष उपेन्द्र यादव एकपक्षीय रूपमा अगाडि बढेको भन्दै आलोचना गरेका छन्।
बैठकमा प्रदेश–२ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरिएको विषयले समेत प्राथमिकता पाएको छ। बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णय नहुँदा समस्या आएको बताए।
मुख्यमन्त्री कार्यालयमा भएका अनियमितता र अख्तियारले मारेको छापा लगायत विषय पनि बैठकमा उठेका छन्। रायले आफूलाई पदमुक्त गर्ने निर्णय पार्टीको नभएको बताउँदै अपमानपूर्ण ढङ्गले विना कारण हटाउनु खेदजनक भएको टिप्पणी गरे। “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ्रष्टाचार भएको ठहर गरिसकेको छ,” कार्यकारिणी समिति सदस्य रायले भने, “अब मुख्यमन्त्रीले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनुपर्छ।”
नेताहरूले पार्टी एकीकरणको समयमा दुई अध्यक्षको परिकल्पना गरिएको र त्यसले शक्ति सन्तुलन गर्ने भएकाले दुई अध्यक्षको व्यवस्था गर्न माग समेत गरे।
बैठकमा कार्यकारणी समिति सदस्य राजकिशोर यादवले मधेश आन्दोलनको बलमा पार्टी निर्माण भएको हुनाले जनताको भावनालाई ख्याल गर्दै अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिए।
बैठकले कार्यकारिणी समितिमा १२ जना सदस्य थप गर्ने निर्णय गरेको छ। समितिमा ३३ प्रतिशत महिला पुर्याउन सङ्ख्या थप गर्न लागिएको हो। १६ जनालाई कार्यकारिणी समितिमा थप गर्नुपर्ने भए पनि हाल चार स्थान रिक्त राख्ने सहमति भएको छ।