दाहालले जितेको चितवन–३ मा अब को बलियो?
२०७४ सालमा एमाले र कांग्रेसले उम्मेदवार नउठाएको चितवन–३ मा समानुपातिक मत परिणामका आधारमा आगामी चुनावको अनुमान लगाउन सकिन्छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच चितवनको राजनीतिलाई लिएर जुहारी चलेको छ। बुटवलका लागि निर्धारित एमालेको १०औं महाधिवेशन चितवनमा सरेपछि दाहालले आफ्नो राजनीति समाप्त पार्न लागिएको टिप्पणी गरेका छन्। आफूले यसअघि जितेको चितवन–३ मा माओवादीलाई कमजोर बनाउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको उनको भनाइ छ।
एमाले अध्यक्ष ओलीले भने आफूहरूले दाहाललाई लक्षित गरेर चुनावी सभा नगरेको स्पष्टीकरण दिएका छन्। ७ मंसीरमा काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा ओलीले दाहाललाई लक्षित गर्दै भने, “मैले उहाँको निर्वाचन क्षेत्रमा गएर महाधिवेशन गरें भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस् न माओवादीको महाधिवेशन, झापाको दमकमा गरे हुन्छ।”
२०७४ सालको निर्वाचनमा दाहाल चितवन–३ बाट ४८ हजार २७६ मत सहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डेले ३८ हजार ९३५ भोट पाएका थिए।
न त दाहालले पाएको सबै भोट माओवादी केन्द्रको थियो न पाण्डेले पाएको सबै भोट राप्रपा (प्रजातान्त्रिक)को। किनभने, दाहाललाई त्यति वेलाको दोस्रो ठूलो दल एमालेका मतदाताले भोट हालेका थिए भने पाण्डेलाई नेपाली कांग्रेसको समर्थन थियो।
एमाले र कांग्रेस दुवैले उम्मेदवार नउठाएको चितवन–३ मा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतलाई आधार मानेर दलीय शक्ति अनुमान गर्न कठिन छ। तर, समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त मत हेर्दा त्यहाँ कांग्रेस समर्थक सबैभन्दा बढी रहेको देखिन्छ।
गत निर्वाचनमा कांग्रेसले २६ हजार, एमालेले २४ हजार, माओवादीले २३ हजार र राप्रपा (प्रजातान्त्रिक)ले साढे पाँच हजार मत ल्याएका छन्। समानुपातिक मत हेर्दा कांग्रेस र एमाले उम्मेदवारपछि मात्रै माओवादी उम्मेदवारको पालो आउने देखिन्छ। यसको अर्थ हो, अन्य दलसँग तालमेल नगरी दाहालले चितवन–३ बाट चुनाव जित्ने सम्भावना अत्यन्त न्यून छ।
समानुपातिक मतका आधारमा चितवन–३ का प्रमुख १० पार्टी
नेपाली कांग्रेस- २६,१३७
नेकपा (एमाले)- २४,१५५
नेकपा (माओवादी केन्द्र)- २२,९८८
राप्रपा (प्रजातान्त्रिक)- ५,६३३
विवेकशील साझा पार्टी- २,८४६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)- १,८५१
राप्रपा (राष्ट्रवादी)- १,३२७
राप्रपा- ५२६
नेकपा (माले)- ४७४
नयाँ शक्ति पार्टी- ४१९
स्रोत : निर्वाचन आयोग