प्युठानमा कांग्रेसको मतगणना स्थलमा ढुङ्गा प्रहार, चार जना घाइते
नेपाली कांग्रेस प्युठानको जिल्ला कार्यसमिति चयनका लागि भएकाे निर्वाचनको मतगणनास्थलमा ढुङ्गा प्रहार हुँदा चार जना घाइते भएका छन्।
प्युठान स्वर्गद्वारी क्याम्पसमा मंगलबार साँझ मतगणना सकिनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको शेखर कोइराला पक्षका एक नेताले जानकारी दिए। देउवा पक्षबाट सभापतिमा उठेका शिव रिजाल हार्ने निश्चित भएपछि कार्यकर्तालाई आक्रमण गर्न लगाएको ती नेताको दाबी छ।
रिजालले ४६९ र शेखर कोइराला–गगन थापा पक्षका विष्णु गिरीले ५२९ मत प्राप्त गरेका छन्। ६५ मत गणना हुन बाँकी छ। गिरीलाई निर्वाचित हुन थप एक मत आवश्यक छ।
प्युठानका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले दुई प्रहरी र दुई कार्यकर्ता घाइते भएको जानकारी दिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। “गणना हुन बाँकी मत सुरक्षित छन्,” भुसालले हिमालखबरसँग भने, “स्थिति हाम्रो नियन्त्रणमा छ।”