अस्ट्रेलिया र जापान सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको आवागमनलाई खुला गरेका छन्।
कोरोनाभाइरस महामारीका कारण विदेशी विद्यार्थीको आवागमनलाई रोकेका दुवै देशले सीमा खुला गर्दै आगमनलाई सहज बनाउने नीति लिएका हुन्।
जापान सरकारले २२ कात्तिकदेखि पर्यटक बाहेक अन्य भिसाको प्रक्रिया खुला गरिसकेको छ। अस्ट्रेलियाले चाहिं १५ मंसीरदेखि लागू हुने गरी विदेशी विद्यार्थी लगायत अन्यको लागि पनि आवागमन खुला गरेको हो।
सोमबार अस्ट्रेलियाकी गृहमन्त्री करिन एन्ड्रिउजले सरकारी नीतिले करीब दुई लाख विदेशी विद्यार्थी र कामदार लाभान्वित हुने बताएकी छन्।
त्यस्तै, जापान सरकारले २०२० को अप्रिलदेखि २०२१ अप्रिलसम्मका विद्यार्थीलाई आगामी जनवरीभित्रमा प्रवेशको अनुमति दिने जनाएको छ। २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीका लागि भने त्यसपछि सूचना जारी गरिने जापान सरकारले बताएको छ।
भिसा आवेदन पूर्व विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको कलेजबाट माग गरिएको कागजपत्र पेश गरी जापानको शिक्षा मन्त्रालयबाट स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ।
त्यस्तै, सीमा नाका बन्द गरेपछि भिसा प्राप्त गरेका करीब ३ हजार ७०० नेपाली विद्यार्थी अस्ट्रेलिया जान वञ्चित भएका थिए। उनीहरूले नेपालमै बसेर अनलाइन कक्षा लिइरहेका छन्।
अब यी विद्यार्थीका साथै पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार र अस्थायी पारिवारिक भिसा भएकाहरू अस्ट्रेलिया जान सक्नेछन्। अस्ट्रेलियाले तत्कालका लागि क्वारेन्टिनमा नबसी न्यू साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा मात्र प्रवेश र यात्रा गर्ने अनुमति खुला गरेको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले हतार नगरी प्राथमिकताका आधारमा विदेश जाने तयारी गर्न विद्यार्थीलाई अनुरोध गरेको छ। ईक्यान अध्यक्ष प्रकाश पाण्डेले नयाँ शैक्षिक सत्र शुरू हुने समय नजिक आएका विद्यार्थीले उडानलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले भने, “अतिरिक्त आर्थिक भार नपर्ने गरी हवाई टिकट लगायत अन्य व्यवस्थापन गर्न हामी विद्यार्थी र अभिभावकलाई अनुरोध गर्दछौं।”