‘कुनै पदमा मेरो दाबी छैन, महाधिवेशनले एकताको सन्देश दिन्छ’
‘अझै समय छ नि! अहिले नै हतारिनुपर्ने केही छैन। मुख्य पदको टुङ्गो ढिलै लाग्छ। पदाधिकारीमा महिला हुनुपर्ने आवाज उठाउँदै आएकी छु।’
नेकपा (एमाले)को १०-१२ मंसीरमा चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। केही नेताले उम्मेदवारी घोषणा गरेका छन् भने केही पर्ख र हेरको स्थितिमा छन्।
बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमालेको केन्द्रीय पदाधिकारीमा उम्मेदवार बन्ने तयारीमा छन्। यसै सन्दर्भमा हिमालखबरका लागि सरिता दाहालले गरेको सङ्क्षिप्त कुराकानीः
राष्ट्रिय महाधिवेशन तयारी कसरी हुँदै छ?
पहिलो, नेता तथा कार्यकर्ताका लागि पार्टीको महाधिवेशन एउटा महान् पर्व जस्तै हो। त्यसैले पनि एकदम खुशी र हौसला सहित महाधिवेशनमा जाँदै छौं। महाधिवेशन स्थलमा पुग्न नसक्नेका लागि प्रविधि मार्फत अवलोकनको व्यवस्था गर्ने तयारी गरिरहेका छौं। यो सम्मेलनलाई प्रविधिमैत्री पनि बनाउँदै छौं।
अहिले महाधिवेशनको तयारी लगभग सकिएको छ। यो महाधिवेशन अत्यन्त सौहार्द्रपूर्ण वातावरण सहित भव्य र सुन्दर हुने अपेक्षा गरिएको छ। महाधिवेशनका लागि गठन गरिएका सबै कमिटीले आ-आफ्नो ठाउँबाट काम गरिरहेका छन्। सबै कमिटीको तयारी र उत्साह एकदम राम्रो छ।
तपाईंको तयारी कस्तो छ, कुन पदमा उम्मेदवारी दिनुहुन्छ?
अझै समय छ नि! अहिले नै हतारिनुपर्ने केही छैन। मुख्य पदको टुङ्गो ढिलै लाग्छ। पदाधिकारीमा महिला हुनुपर्ने आवाज उठाउँदै आएकी छु। म कहाँ रहने भन्ने टुङ्गो लाग्न बाँकी छ।
महाधिवेशनमा सबैले पदको चाहना राख्नु अस्वाभाविक होइन। केही साथीहरूले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ। केही पर्ख र हेरको अवस्थामा हुनुहुन्छ। म पनि अहिले नै पदको दाबी गर्नेवाला छैन। मैले कहिल्यै पदको दाबी गरेकी छैन र गर्दिनँ पनि।
अबको नेतृत्वमा म कहाँ रहने भन्ने मैले भन्दा पनि आजको आवश्यकताले निर्धारण गर्ने कुरा हो। अबको दिनमा पार्टीको आवश्यकता के? देशको आवश्यकता के? कम्युनिष्ट आन्दोलनलाई कसरी हाँक्ने? यी सबै सोचेर अघि बढ्नुपर्छ।
यसका लागि सबैभन्दा पहिला नेतृत्व एकमत र एकताका साथ अघि बढ्नुपर्छ। थोरै पद र धेरैको अपेक्षा भएकाले यसलाई नेतृत्वले व्यवस्थापन गरेर अघि बढ्नुपर्छ। पद नपाउनेले पनि देश, पार्टी र जनताका हितलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्छ।
गौरवशाली, ठूलो र जनमत भएको पार्टीको सदस्य भएर बस्न पनि गौरव ठान्नुपर्छ। अहिले कमरेड केपी शर्मा ओली पार्टी अध्यक्ष हुनुहुन्छ। उहाँले मन फराकिलो बनाएर विवेक र सही ढङ्गले व्यवस्थापन गर्नुपर्छ। उहाँले खुलस्त रूपमा सबैको मनोभावनालाई बुझ्दै उचित व्यवस्थापन गर्नुहुनेछ भन्ने लाग्छ।
अब पार्टीभित्र आन्तरिक बेमेल छैनन्। गुट, फुट र विभाजनको पक्षमा जनता र कार्यकर्ता छैनन्। टुक्रिएर कसैलाई फाइदा छैन। देश र जनताका लागि अब ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा गर्ने पार्टी एमाले मात्रै हो।
अब पार्टीभित्र आन्तरिक बेमेल छैनन्। गुट, फुट र विभाजनको पक्षमा जनता र कार्यकर्ता छैनन्। टुक्रिएर कसैलाई फाइदा छैन। देश र जनताका लागि अब ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा गर्ने पार्टी एमाले मात्रै हो।
यस पटक महाधिवेशनमा त विचार विमर्श नहुने भयो नि?
यस पटक महाधिवेशनअघि विधान महाधिवेशन सम्पन्न गरिसकेका छौं। नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षे इतिहासमा कहिल्यै विधान महाधिवेशन भएको थिएन। हामीले यो पटक विधान महाधिवेशन गरेर नयाँ सन्देश दिएका छौं- अब पुरानो ढाँचामा पार्टी छैन।
महाधिवेशनमा नेतृत्व छनोट प्राथमिकतामा पर्ने गरेको थियो। त्यसैले यो पटक घनीभूत छलफल गरेर विधान महाधिवेशन सम्पन्न गरेका छौं। अब त्यही विधानलाई टेकेर नेतृत्व छनोटको महाधिवेशन हुन्छ। त्यसकारण पनि यो महाधिवेशन नीति, कार्यक्रम र कार्यदिशा सहित प्रष्ट आधार तयार गर्दै नेतृत्व छनोट गर्न सफल हुनेछ।
यो महाधिवेशनपछिको एमाले कस्तो हुनेछ?
पहिलो त यो महाधिवेशनले एकताको सन्देश दिनेछ। अर्को, असल नागरिकका लागि आशालाग्दो पार्टी नेकपा (एमाले) हो भन्ने सन्देश दिनेछ। त्यस्तै, ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्यलाई सार्थक बनाउन सहयोग गर्ने पार्टी एमाले हो भन्ने सन्देश पनि दिनेछ।
विगतलाई बिर्सिएर एकमत, एकताका साथ म एमाले, हामी सबै एमाले भनेर अघि बढ्नुको अर्को विकल्प पनि अब छैन। महाधिवेशन पनि यही ढङ्गले अघि बढ्छ र देशको शक्तिशाली पार्टीका रूपमा एमाले पुनःस्थापित हुनेछ।
अहिलेको परिवेश फरक छ, जनताले समृद्धिको चाहना राखेका छन्। यो पूरा गर्ने दायित्व एमालेको र अब आउने नेतृत्वको हुनेछ। यी सबै कुरालाई ध्यानमा राखेर नेतृत्व छनोट गर्नेछौं।
विगतमा भएका गुटगत विभाजनबाट कार्यकर्ता र नेपाली जनता दिक्क छन्। ७२ वर्षको नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा थुप्रै गुटगत विभाजन भए। अब पनि त्यही अवस्थामा रमाउने हो भने ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा हुँदैन। महाधिवेशनबाट छिन्नभिन्न एमाले नभई, एकताबद्ध र एकढिक्का एमाले भएको सन्देश दिनेछौं।
महाधिवेशन सकेर फर्कंदै गर्दा कुनै पनि नेता-कार्यकतामा तिक्तता, चित्त दुखाइ तथा विगतको पीडा बाँकी रहनेछैन। विगतलाई बिर्सिएर एकमत, एकताका साथ म एमाले, हामी सबै एमाले भनेर अघि बढ्नुको अर्को विकल्प पनि अब छैन। महाधिवेशन पनि यही ढङ्गले अघि बढ्छ र देशको शक्तिशाली पार्टीका रूपमा एमाले पुनःस्थापित हुनेछ। अनि मात्रै समाजवादको लक्ष्य भेट्न सक्छौं।
महाधिवेशनमा आउने प्रतिनिधिलाई केही सन्देश छ?
महाधिवेशनका लागि प्रतिनिधि छनोट भएर जो जो आउँदै हुनुहुन्छ, उहाँहरू धेरै तवरबाट अधिकार सम्पन्न व्यक्ति हो। अब पार्टीलाई कस्तो बनाउने, कसरी देशमा एमालेलाई चिनाउने, कसरी समृद्ध नेपालका लागि पार्टीले योगदान गर्ने, कसरी एमालेलाई साझा पार्टी बनाउने जस्ता सवाललाई उहाँहरूले बुझ्नुपर्छ।
यससँगै कस्तो व्यक्तिलाई पार्टीको जिम्मेवारी सुम्पने भन्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूलाई मात्रै छ। त्यसैले उहाँहरूले पार्टी र देशको हितका लागि आफ्नो अधिकारको सही सदुपयोग गर्नुहुनेछ। कसैको उछितोपाछितो गर्नुभन्दा संयम भएर, सहमति र सल्लाहमा नेतृत्व चयनको वातावरण सौहार्द्रपूर्ण बनाउनुहुनेछ भन्ने अपेक्षा लिएकी छु, अनुरोध पनि गर्छु।