निधि निकट यादवले गरे प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता रामसरोज यादवले प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
कांग्रेसको प्रदेश २ संसदीय दलका नेता यादवले पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी उपसभापति विमलेन्द्र निधि निकट नेता हुन्।
वडा अधिवेशनमा निधिका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी असन्तुष्ट रहेका थिए। सोमबार जनकपुर आएका निधिसँगको छलफलपछि यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा यादवले भने, “म प्रदेश २ को सभापति पदका लागि उम्मेदवारीको घोषणा गर्दछु।”
प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले २०२९ सालमा विद्यार्थीबाट राजनीति शुरू गरेका थिए। उनी १४ वर्ष कांग्रेस धनुषाको सभापति भएका थिए।
उनले केन्द्रीय सभापति पदका लागि आफ्नो नेता उपसभापति निधि भएको बताए।