सर्वोच्चमा पेसी तोक्न प्रधानन्यायाधीशको नेतृत्वमा निर्देशन समिति
सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न अब प्रधानन्यायाधीशको नेतृत्वमा ‘पेसी व्यवस्थापन निर्देशन समिति’ बन्ने भएको छ र त्यही समितिको निर्देशनमा मुख्य रजिस्ट्रारले दैनिक पेसी तोक्नेछन्।
२ मंसीरमा बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको थियो। त्यसका लागि सर्वोच्च अदालत नियमावली संशोधन गरिएको छ। यस सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ।
सरकारी निर्णय राजपत्रमा प्रकाशित भएसँगै वैधता पाउँछ। त्यससँगै कानूनी रूपमा लागू हुन्छ।
अब सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न पेसी व्यवस्थापन निर्देशन समिति बन्नेछ। यसको नेतृत्व प्रधानन्यायाधीशले गर्नेछन्। यसअघि प्रधानन्यायाधीशले नै पेसी तोक्ने गरेका थिए।
संशोधित नियमावलीमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने पेसी व्यवस्थापन समितिमा वरिष्ठतम दुई जना न्यायाधीश सदस्य रहने व्यवस्था गरिएको छ। यस समितिको सदस्य-सचिवमा मुख्य रजिस्ट्रार रहने उल्लेख छ।
समितिको निर्देशनमा मुख्य रजिस्ट्रारले मुद्दाको पेसी तोक्नेछन्। यसका लागि गोलाप्रथा प्रक्रिया अपनाइने भएको छ।
मुख्य रजिस्ट्रारले पेसी तोक्दा निर्देशन समितिको निर्देशन मान्नुपर्ने व्यवस्था गरिएको छ। संशोधित नियमावलीको नियम ३ मा थपिएको उपनियम ३ मा भनिएको छ, “मुख्य रजिस्ट्रारले पेसी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेसी सूची तयार गर्दा गोपनीयता कायम गर्नुपर्नेछ।”
सर्वोच्च अदालतको संशोधित नियमावली: