आज निको हुनेभन्दा सङ्क्रमित धेरै
कोभिड-१९ बाट निको हुनेभन्दा आज नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १२ हजार ६९७ जनाको स्वाब परीक्षण गर्दा ३८५ जनामा कोरोना देखिएको छ। जसमध्ये नौ हजार ९२१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ र दुई हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ।
सोमबार कोरोना सङ्क्रमणबाट २५८ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख ६१७ पुगेको छ। अझै सात हजार २६९ जना सक्रिय सङ्क्रमित छन्।
आज देशभर ७१ हजार ४८३ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। अहिलेसम्म ९१ लाख ४५ हजार ४८० जनाले पहिलो डोज र ७९ लाख ५२ हजार ३८६ जनाले पूर्ण खोप लगाएका छन्।
अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाउन थालिएको छ। आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले अनुरोध गरेको छ।