बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या ६ पुग्यो
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–२, देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म.१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडकखण्ड अन्तर्गत कलुवाड मोडमा आइतबार राति ८ः३० बजे दुर्घटनामा परेको हो।
जीपमा सवार सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ।
घटनास्थलमै मृत्यु हुनेहरूमा सबै दशरथचन्द–६ कै रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुनेहरू:
१. राजेन्द्रबहादुर चन्द (४८)
२. धनबहादुर चन्द (३८)
३. प्रेमबहादुर चन्द (६५)
४. तारासिंह थापा (६५)
५. खेमसिंह कार्की (५८)
६. दीपक माली (४०)
घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
यस्तै, दुर्घटनामा परी दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ। जीप सडकबाट ७०० मिटर तल खसेको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन। रासस