काठमाडौंको बाढी–कथा
झण्डै चार दशकको ‘अराजक विकास’ को शिकार बनेको काठमाडौं उपत्यकामा बाढीको समस्या रोकिने होइन, अझ भीषण बन्ने देखिन्छ।
काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिले यसलाई विभिन्न नीतिगत फाइदा दिएको छ। औलोका लागि यो ठाउँ अति उच्च भेगमा पर्छ भने हिउँ र बरफ जम्नलाई अति तल्लो भेगमा छ। साथै, उत्तर भारतको जनसाङ्ख्यिक केन्द्रहरू र उच्च हिमाली मार्गको बीचमा रहनुले यस उपत्यकालाई ऐतिहासिक मोहडाका रूपमा गजबले स्थापित गरेको छ। तर, उपत्यकाले भूकम्प र बाढी झेल्नुपर्छ। प्रत्येक वर्ष वर्षायाममा बाढी आउने गर्छ। पहिले पहिले त्यो बाढीले कालो माटो पुनःस्थापना गर्थ्यो, तर पछिल्लो समय त्यसले क्षति र विनाश मात्रै ल्याएको छ।
ह्वात्तै बाढी आएर कतिपय खोलाहरू केही घण्टामै चार गुणा ठूलो हुने भएकाले हामी त्यसलाई ‘आकस्मिक बाढी’ (फ्ल्यास फ्लड्स) भन्छौं। त्यसलाई हामी अक्सर प्रकृति र मुसलधारे वर्षाका कारण भएको भनेर दोष दिन्छौं। उपत्यकाले त्यस्तो भेलबाढी पुस्तौंदेखि झेल्दै आएको छ। आजका अधिकांश आकस्मिक बाढीहरू मानव निर्मित हुन्। उपत्यकाको अव्यवस्थित विकास–निर्माणले थुप्रै बाढीका मैदान (फ्लडप्लेन) बनाउने मात्र नभएर बाढीलाई अझै दोहोरिरहने र समस्या निम्त्याउने अवस्था सिर्जना गरिदिएको छ।
खोलाहरू अकस्मात् बढेर भेल बग्ने भए पनि उपत्यका हरेक वर्ष डुबान पर्नुमा पछिल्ला धेरै दशक वा कम्तीमा शहर विस्तार व्यापक भएदेखि थुप्रिँदै आएका कारणहरू छन्। “सन् १९८० को मध्यतिर शुरू भएको परिवर्तनको गति द्रुत, अराजक र कुशासित छ,” पानी विज्ञ एवं नेपालमा विपद् पुस्तकका लेखक अजय दीक्षित नेपालका विपत्तिहरूबारे भन्छन्, “शहरी विस्तारमा जलविज्ञान प्रतिको गम्भीरतालाई बेवास्ता गरिएको छ।”
मनसुनी ढाँचा
सयौं वर्षदेखि काठमाडौं उपत्यकामा आवधिक रूपमा बाढी आउने गरेको छ। मनसुनको खोलाले बाढी ल्याइहाल्छ। विशेषतः जब छिटो बग्ने थिग्रेनीले भरिएको हिमाली क्षेत्रको पानीले समतल भूभागमा हान्छ, बाढी आउँछ।
हिमाली नदीहरूको विपरीत, उपत्यकाका नदीहरू हिउँ र बरफ पग्लिएर बनेका छैनन् र तिनको मूलद्वार नजिकैको शिवपुरी र वरपरका डाँडाहरू हुन्। बागमती नदीको पहिलो थोपा नै समुद्री सतहभन्दा २,७०० मिटर माथि, शिवपुरीको काँधमा रहेको बागद्वारमा रसाउँछ। त्यहाँबाट ३० किलोमिटरको चोभार घाँटीमा पुग्छ। चोभारबाट उपत्यका छोडेर अर्को १४० किलोमिटरको यात्रा तय गर्दै बागमती भारतीय सीमामा पुग्छ।
बागद्वारमा बागमती एकदम तेजसँग भुलुक्क भुलुक्क गर्दै निस्किन्छ, प्रति किलोमिटर करीब १३० मिटरका दरले। उपत्यकाको भुइँ छोएपछि यसको रफ्तार घट्छ, पशुपति र टेकु हुँदै बग्दा यसको वेग प्रति किलोमिटर २।७ मिटर मात्रै हुन्छ। त्यसपछि चोभार हुँदै महाभारत श्रृङ्खलामा वेग पुनः बढ्छ। तराई पुगेपछि भने वेग सुस्त हुन्छ।
उपत्यकाको धेरैजसो वर्षा, ८० प्रतिशतभन्दा बढी, मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म, तीन महीनाभित्र पर्छ। तर, यो समान रूपमा पर्दैन, कहिले छिट्याउँछ मात्रै, कहिले आरीघोप्टे वर्षा हुन्छ। उपत्यकाको दक्षिणतर्फ, बागमती जलाशयमा एकै दिन ४०० मिलिमिटरभन्दा धेरै र एक घन्टाभित्रै ४० मिलिमिटर पानी जम्मा हुन्छ। भारी वर्षाले फ्ल्यास फ्लड निम्त्याउँछ।
सन् १७९३ को भ्रमणपछि बेलायती इस्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्कपाट्रिकले उपत्यकाको मनसुन बाढीबारे टिप्पणी गरेका थिए, ‘पानीलाई तीव्र गतिमा बगाउने गरी उपत्यकाका नदीहरूको बहाव पहिलेदेखि नै उतिसाह्रो शक्तिशाली थिएन। तसर्थ, अलि गहिरोतिरका नदी–किनारहरू मात्रै डुब्ने सम्भावना हुन्थ्यो।’ उनका अनुसार, बाढीहरू ‘किसानका लागि निकै हानिकारक’ हुन्थे र किसानले नै प्रायः नोक्सानी भोग्नुपर्थ्यो। यो समस्या समाधानका लागि उपत्यकाबासीले अग्लो ठाउँमा बस्ती बसाएर गहिरो भागमा बाली लगाउन थाले। यसरी उनीहरूले बाढीसँग जुध्ने उपाय निकाले।
अग्लो ठाउँ भन्नाले उपत्यकालाई वरिपरि ढाक्ने पहाडी पर्खाल वा टारहरू हुन्। उपत्यकाबासीले टारहरूमा बस्ती र ऐतिहासिक शहर निर्माण गरेको कुरा सन् १८५० को दशकमा बेलायती चिकित्सक हेनरी एम्ब्रोज ओल्डफिल्डले पनि लेखेका थिए।
टारहरूमा बस्ती बसाएर तल्लो भाग (काठमाडौं खाल्डो)लाई खेतीका लागि छोडिएको थियो। ‘सिंचाइको सुविधा र वर्षा ऋतुमा बाढी आउने पक्का भएकाले उपत्यकाका सबै तल्ला भेगहरू धान खेतीका लागि उत्तम छन् भन्ने आम बुझाइ थियो,’ ओल्डफिल्ड लेख्छन्, ‘कतै कतै साना घर, पौवा वा मन्दिर देखिन्थे, तर सामान्यतया तल्लो भेगमा अत्यन्तै पातलो बस्ती थियो।’ वासस्थान र खेतीपातीको यो तारतम्य आर्थिक हिसाबले पनि मिलेको थियो। ओल्डफिल्डको भनाइमा गहिरो ठाउँको ‘उच्च उर्वरता र उत्पादकत्व’ ले यसलाई घर बनाउनुभन्दा खेती गर्नुमा फाइदाजनक बनाएको थियो।
साथै, स्वास्थ्यका दृष्टिले पनि यहाँ बस्नुभन्दा बालीनाली लगाउनु उत्तम थियो। ‘गहिरोपन र उष्णता’ ले काठमाडौं खाल्डोलाई अस्वस्थ बनाएको छ। त्यसमाथि बाढी आउने ! ओल्डफिल्डले ‘बाढीको निश्चितता’ बारे वर्णन गरेका छन्। कर्कपाट्रिकले यस्ता बाढीबारे आधा शताब्दी अघि नै उल्लेख गरेका थिए।
बाढी बढोत्तरी
कर्कपाट्रिक र ओल्डफिल्डले १९औं शताब्दीमा बयान गरेको बाढीभन्दा २१औं शताब्दीको काठमाडौंको बाढी फरक छ। बाढी पसिरहने हुँदा पहिले घरहरू नबनाइने होचा ठाउँमा समेत अहिले उपत्यकाबासीले घर बनाएका छन्। सम्पूर्ण वातावरण नै हेरफेर गरिएको छ। त्यही भएर वार्षिक बाढी पहिलेभन्दा झन् विकराल बन्दै गएको छ।
जलवायु परिवर्तनले अस्वाभाविक भारी वर्षा गराइरहेको छ। उपत्यकाको वातावरण र विशेषतः जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्–झन् भीषण बनाइरहेको छ। केही दशक अघिसम्म उपत्यकाको माटो र बालुवाले मनसुनी वर्षा सोसेर राख्थ्यो र गर्मीयाममा त्यसले जमीन ओसिलो बनाउँथ्यो, वर्षभरि त्यही पानी बिस्तारै निष्कासन हुन्थ्यो। जमीनले यति धेरै पानी सोस्थ्यो कि एक वर्षमा आठ महीना खडेरी पर्दा समेत उपत्यकाका ठूला नदीहरू सुक्दैनथे। मनसुनमा भारी वर्षा हुँदा माटोको सोस्ने क्षमताका कारण बाढी कम हुन्थ्यो। “धेरै पानी सोस्ने जमीनले वर्षायाममा बाढी आउन रोक्छ,” पानीविज्ञ मधुकर उपाध्या भन्छन्।
सबैभन्दा ठूलो परिवर्तन भनेको ठूला भवन र कङ्क्रिटहरू हुन्, जसले जमीनमा प्रवेश गर्ने पानीलाई रोकिदिएका छन्। माटो भिजाउनुको सट्टा वर्षाको पानीले हिजोआज कौसी र पक्की सडक पखाल्छ। र, अलि होचा ठाउँहरू क्षणभरमै डुबानमा पर्छन्, खोलाहरू एक्कासि बढेर घाँटी घाँटी आइपुग्छन्। “हामीले सबै जमीन छोपिसक्यौं,” उपाध्या भन्छन्, “अहिले वर्षाको पानी जमीन मार्फत वा जमीन हुँदै नभएर सीधै खोलामा जान्छ। अनि ह्वात्तै बाढी आउँछ।” इँटा र गिलो माटो, सिमसार र पोखरीहरूले बनेको एकताकाको आकर्षक काठमाडौं उपत्यका अहिले कङ्क्रिटको अस्तव्यस्त महानगर बनेको छ।
यो कङ्क्रिट र अव्यस्थित परिवर्तनले जमीनको सोस्ने र पानी पटाउने उपत्यकाको परम्परागत जल निकास प्रणालीलाई भङ्ग गरेको छ। साथै, काठमाडौं बढ्दै जाँदा यहाँका ढिस्काहरूमा डोजर चलाउने क्रम पनि बढेको छ। “आकाशको पानी भण्डारण भई बिस्तारै निकास हुने उपत्यकाका बालुवाका ढिस्का हामीले मासिसकेका छौं,” उपाध्या भन्छन्।
जग्गाधनीहरू राम्रो भाउमा बालुवा बेच्ने गर्छन्। उनीहरूले दोब्बर इनाम पाए पनि पर्यावरणले ठूलो नोक्सानी झेलेको छ। सन् २०१८ मा भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी ढिस्को नाश गर्दाको एउटा परिणाम थियो। “हनुमन्तेको बाढी अघि नगरकोटसम्मका ढिस्काहरू खनेर पानी जम्ने खाल्डोमा रूपान्तरित गरिएका थिए,” उपाध्या भन्छन्। यस्तै हर्कतका कारण उपत्यकाको पानी अहिले नयाँ ढाँचामा बग्ने गरेको छ। जटिल पर्यावरणीय प्रणालीमा हेरफेर हुँदा हामीले नसोचेको परिणाम भोग्नुपरेको छ। पुराना नदीहरू हामीसँग बाँकी छैनन्।
जसरी उपत्यकाको पानी भण्डारण र बहाव ढाँचा पूर्ण रूपमा फेरिएको छ, त्यसरी नै यहाँका नदीको स्वरूप फेरिएको छ। काठमाडौंका नदीहरू पहिलेका जस्ता छैनन्। ती बालुवाले ढाकिएका छैनन्। एकदमै सङ्कुचित नालाबाट पानी बग्छ। नदीको एक वा दुवै किनारमा बनाइएका पर्खालले नदीको बाटो तय गर्छ, त्यसले नदीलाई खुम्च्याएको छ। कतिपय नदी किनारहरू कवाडी र फोहोरले भरिएका छन्। कतै कतै फोहोरकै अग्लो पर्खाल बनेको छ। पुस्तौंपुस्ता अघि भैंसी र बाख्रा चर्ने र मानिसले नुहाइधुवाइ र पाठ गर्ने, खेल्ने ठाउँमा अहिले भवनहरू ठडिएका छन्, कार र मोटरसाइकलहरू डरलाग्दो वेगमा हुइँकिन्छन्। “विगतका खोला अहिले हामीसँग छैनन्, ती मासिएको धेरै भइसक्यो,” उपाध्या पछुताउँछन्।
एक सय ५० वर्ष अघिको विष्णुमती नदीबारेको वर्णनले मलाई अचम्मित तुल्यायो। ‘नदी खासै गहिरो छैन, चौडा र फैलिएको छ, छेउमा खेती गरिएको जमीनकै बराबर भएर बग्छ,’ सन् १८७० को दशकमा काठमाडौं आएका एक पर्यटकले लेखेका छन्। एक सय ५० वर्षपछिको विष्णुमती दुवै किनारको तीन मिटर तलबाट बग्छ।
बागमती पनि नयाँ नदी बनेको छ। सन् १८७० को दशकमा, ती पर्यटकले यसको ‘निकै फराकिलो मार्ग’ थियो र खोलाको पानी आफ्नो इच्छा र आवश्यकता अनुसार जता पनि बग्थ्यो भनी उल्लेख गरेका छन्। ‘वर्षाको वेला समेत खोला गहिरो हुँदैनथ्यो, घुँडासम्म मात्रै पानी हुन्थ्यो,’ उनी भन्छन्।
त्यो वेला उपत्यकाको माटो विशाल स्पन्ज (पानी सोस्ने सामग्री) जस्तो थियो र खोलाहरू चौरीमा छोडिएको भैंसी झैं जता पनि डुल्न सक्थे। सोही समयबारे ओल्डफिल्डले लेखेका छन्, ‘बागमती कहिले पनि धेरै गहिरो हुँदैन, तर पानी परेका वेला यो फैलिएर ठूलो हुन्छ र तीव्र वेगमा बग्छ। पानी पवित्र मात्रै हुँदैन, यो अचम्मैसँग स्वच्छ र स्वस्थकर हुन्छ।’ काठमाडौंका दुई ठूला नदी, विष्णुमती र बागमती अहिले ढुङ्गाको पर्खाल लगाएर साना र अप्राकृतिक बनाइएका छन्। यिनमा बालुवाको किनार उहिल्यै हराइसके र यी नदी पहिला झैं मनलाग्दी डुल्दैनन्।
साना नदीमा ठूला परिवर्तन
धोबी खोला, हनुमन्ते, सामाखुसी वा यीभन्दा पनि साना नदीमा जस्तो परिवर्तन सायदै अरू केहीमा आएको छ। यी सहायक नदी र नालाहरू ढाकिएका छन्, यीमाथि बकाइदा सिमेन्ट ढलान गरिएको छ। कतिपय ठाउँमा यी नदी छन् भनेर थाहै हुँदैन। पानी परेर बाढी नआएसम्म यिनको अस्तित्व नै नभए सरह छ।
भक्तपुरको हनुमन्ते खोला २० किलोमिटरभन्दा छोटो छ। शहरको तल्लो भाग र अरनिको राजमार्ग (काठमाडौं र भक्तपुरबीचको मुख्य मार्ग) मुन्तिरबाट यो नदी बग्छ। ११ जुलाई २०१८ (२७ असार २०७५)मा जलग्रहण क्षेत्र (क्याचमेन्ट एरिया)मा भारी वर्षा भयो– भक्तपुर वेदर स्टेशनमा १२९.६ मिलिमिटर र नगरकोट स्टेशनमा ११७ मिलिमिटर पानी परेको थियो। मध्यरातपछि बाढी उर्लियो, थुप्रै घण्टासम्म भक्तपुर डुबानमा पर्यो।
बाढीको जोखिम रहेका, राजमार्ग आसपासका क्षेत्रहरूमा नयाँ–नयाँ हाउजिङ कोलोनी र व्यापारिक केन्द्रहरू खडा गरिएका छन्। फोहोर र साँघुरा पुलले पानी–निकास हुने कुला–नाला अवरुद्ध गरिदिएका छन्।
हनुमन्ते अहिले सन् १९६४ को जस्तो छैन। त्यो वेला यो नदी ६ मिटर फैलिएको थियो। आज अतिक्रमणका कारण यो दुई मिटर चौडाइमा सीमित छ। भवन बनाउँदा र अन्य विकास–निर्माणका वेला यसमा पर्ने असर र परिणाम प्रति अलिकति पनि ध्यान दिइएन। ‘सन् २०१८ को भक्तपुरको बाढी अघि सरकारी निकायबाट बाढी रोक्न र कम गर्न कुनै कडा उपायहरू लागू गरिएन,’ सशस्त्र प्रहरी बलको हालैको अध्ययनको निचोड यस्तो छ।
हनुमन्तेको बाढीले बाली सखाप पार्यो। काठमाडौं र भक्तपुरबीचको मुख्य राजमार्ग जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भयो। बाढीले पाँच सय वटा घर, एक सय वटा पसल, २८ वटा साना उद्योग (पेट्रोल पम्प, दुई विद्यालय र दुइटा अस्पताल) डुबायो। कतिपय ठाउँमा लेदो मिसिएको पानी हप्तौंसम्म रहिरह्यो। प्रहरीले र्याफ्ट (नाउ) र क्रेन (भारी उचाल्ने गाडी) ल्याएर सयौं मानिसको उद्धार गरेको थियो। भारी वर्षाले कम्तीमा तीन जनाको मृत्यु भयो। बाढी आएको दिन भक्तपुरमा वर्षाको गति द्रुत थियो, तर पहिलेको भन्दा धेरै पानी परेको थिएन। यस अघि पनि त्यति मात्रामा पानी परेको थियो। सन् १९९० मा एक दिनमै २५० मिलिमिटर पानी परेको थियो।
सन् २०१८ मा बाढी आएको वेलाको भन्दा यो दुई गुणा धेरै पानी हो। ‘नदीको प्राकृतिक बहावमा अतिक्रमण गरेर हामीले हाम्रो जिन्दगीलाई जोखिममा पारेका छौं,’ राजाराम प्रजापतिले रिपब्लिका दैनिकमा लेखेका छन्, ‘हामी आफैं प्रकोपलाई निम्तो दिइरहेका छौं।’
खहरे गल्ली, खोला सडक
काठमाडौंबासीले उपत्यकाका सयौं खहरे र साना मौसमी नदीहरूलाई जथाभावी बिगारेर बाढीलाई आमन्त्रण गरेका छन्। वर्षको अधिकांश समय यी खहरे र साना नदीहरू खाली र सुक्खा हुन्छन्, कसैले ध्यान दिएका हुँदैनन्। तर, जब पानी पर्न थाल्छ, ती अचानक उर्लिएर आउँछन्, हप्तौं वा महीनौंसम्म उपत्यकाभर नागबेली भएर बग्छन्। तिनले मौसमी सिमसार, पोखरी वा दलदल (नेवाः भाषामा डोल) बनाउँछन् र आकाश खुलेपछि गायब हुन्छन्। मनसुनमा जलमग्न हुन्छ भन्ने थाहा पाएरै पहिले–पहिले खहरे छेउ कसैले पनि घर, भवन वा केही पनि बनाउँदैनथे। अहिले कुनै पनि खाली जमीन बाँकी राखिँदैन, नदी बग्ने जमीनमै भवन उभ्याइएका छन्।
पानी र सम्पदाबारे मिंकेत लेप्चाले हालै रेकर्ड नेपालमा एउटा गज्जबको लामो लेख लेखेकी छन्। सन् १९९० को दशकमा घरजग्गा कारोबार व्यापक हुँदा बौद्ध स्तूप नजिकका थुप्रै साना नदी विलीन भएको उनले उल्लेख गरेकी छन्। ‘खेतहरू कङ्क्रिटका घरमा परिणत भएका छन्, खहरेहरू गल्लीमा परिणत भएका छन् र खोलाहरू सडकमा परिणत भएका छन्,’ मिंकेत लेख्छिन्।
मान्छेहरू खहरेको पर्यावरणीय भूमिकाबारे वास्ता गर्दैनन्। स्थानीय बासिन्दा एवं पर्यावरण अधिवक्ता चिरञ्जीवी भट्टराई भन्छन्, “सन् १९९० को दशकमा निर्माण ठेकेदार र घरजग्गा मालिकहरूले यी सिमसार (वेटल्यान्ड)लाई काम नलाग्ने जग्गा (वेस्टल्यान्ड) ठाने।” तर, लेप्चा भन्छिन्, “आफ्नो ठाउँ फिर्ता ल्याउने प्रकृतिको आफ्नै काइदा छ। कङ्क्रिटको पर्खाल र ढकनी लगाए पनि लगभग प्रत्येक वर्ष उपत्यकाका प्राचीन खहरे र सिमसार भरिएर बाढी आउने गरेको छ।”
गुमेको अवसर
उपत्यकाको पानी प्रणालीमा सन् १९७० र १९८० को दशकबाट ठूला फेरबदल शुरू भएका थिए। पुरानो परम्परामाथि गरिएका ती परिवर्तनबाट तर्सिएर केही योजनाकारले दुःखद परिणामबारे चेतावनी दिएका थिए। अहिले फर्किएर हेर्दा, ती चेतावनीहरू हामीले गुमाएका अवसर थिए भन्ने लाग्छ।
सन् १९७० को दशकमा पहिलो पटक मानिसहरूले काठमाडौं उपत्यकाको बेसी जग्गामा भवन र घरहरू बनाउन थालेका थिए। धोबीखोला, सामाखुसी, विष्णुमती र बागमती खोला आसपास भवनहरू उदाउन थाले। काठमाडौं उपत्यकाको बेसीतिर पनि बस्ती बस्न थालेको कुरा सन् १९८६ को नेपाल सरकार र यूएसएडको एक रिपोर्टमा उल्लेख छ। त्यसमा भनिएको छ, ‘बाढी र उच्च जलस्तरको जोखिम भएकाले यी क्षेत्रहरूको विकल्प खोजिनुपर्छ।’ काठमाडौंको जनसङ्ख्या वृद्धिलाई कतिले यसको कारण देखाउने गरेका छन्। काठमाडौंमा असाध्यै जनसङ्ख्या बढेको साँचो हो र सबैलाई जमीन र अन्य स्रोतसाधन चाहिन्छ नै। तर, खराब व्यवस्थापनका लागि यो तर्क बहाना बन्न सक्दैन।
रिपोर्टले नदी किनारमा भएको धेरैजसो निर्माण कार्यको दोष सरकारलाई दिएको छ। बागमतीको दायाँ किनारमा धोबी खोलादेखि टुकुचासम्म नयाँ भवनहरू बन्दै गएकोतर्फ औंल्याउँदै उक्त रिपोर्टमा भनिएको छ, ‘यहाँको अवस्था विष्णुमतीको जत्तिकै खराब छ र यसको जिम्मा पूर्ण रूपले सरकारको हो। स्वास्थ्य तथा सडक विभाग र सोलिड वेस्ट म्यानेजमेन्ट बोर्डले स्थापना गरेका संरचनाहरूले एकताकाको महत्त्वपूर्ण सामाजिक–सांस्कृतिक र धार्मिक क्षेत्रको सम्भाव्यतालाई नष्ट पारिदिएको छ।’
रिपोर्टले ललितपुरको बागमती, खोडाकी, नक्खु, काठमाडौंको बागमती, विष्णुमती र सामाखुसी किनार सहित उपत्यकाको खाल्डो भागलाई कृषि प्रयोजनका लागि संरक्षण गर्न सुझाव दिएको थियो। बाढीको जोखिम भएकाले घर र भवनहरू अन्तै बनाउनुपर्ने उल्लेख थियो। ‘यी क्षेत्र तरकारी खेतीका लागि उर्वर छन् तर यिनमा पानीको मात्रा अधिक धेरै हुनुका साथै निकासा प्रणाली बलियो छैन। तसर्थ, शहरी विकासका लागि यी राम्रा क्षेत्र होइनन् ... समस्या पक्का आइपर्नेछ।’
नदी छेउ ग्रीनबेल्ट निर्माण गर्न रिपोर्टमा सुझव दिइएको थियो। त्यसमा भनिएको थियो, ‘बालाजु/गोंगबुमा नदी छेउ, बाढीको जोखिम भएका क्षेत्रमा (बस्ती) विस्तार रोक्नुपर्छ। यस क्षेत्रलाई पूर्ण संरक्षण गर्न दबाब आवश्यक छ। पानी निकासीमा समस्या भएकाले यो क्षेत्र गैरआवासीय प्रयोजनका लागि उत्तम छ।’ यस्तो चेतावनी दिइएपछि पनि यो क्षेत्रमा बनेका थुप्रै अग्ला–अग्ला भवन सन् २०१५ को भूकम्पमा भत्किए, थुप्रै मानिसको ज्यान गयो। थुप्रै तत्त्वले भूकम्पको जोखिम निर्धारण गर्ने भए पनि चट्टानभन्दा बाढीको जोखिम रहेको क्षेत्रमा धेरै हानि पुग्छ।
अब के त ?
आगामी दिनहरूमा अझै प्रचण्ड बाढीको पूर्वानुमान गर्दै मधुकर उपाध्या भन्छन्, “हामीले सुई टिकटिक बज्ने टाइम बम बनाइसकेका छौं।... माथिबाट खसेको पानी साँघुरा नदीनालाबाट कुनै क्षति नगरी बगेर निस्कन सक्दैन।” यस विषयमा मैले विज्ञहरूलाई के गर्न र गरिनुपर्छ भनेर सोधेको थिएँ। “हामीले जल प्रणालीको सिद्धान्तलाई ध्यान दिनुपर्छ,” अजय दीक्षित भन्छन्, “हाम्रो व्यापार गर्ने तरिकामा पानी विज्ञानलाई पनि ध्यान दिनुपर्छ।”
वर्षाको पानी व्यवस्थापन गर्न हामीलाई केही साना पोखरी बनाउने र केही रूखबिरुवालाई पानी हाल्ने जस्ता साना र ‘फेशनेबल’ गतिविधि मात्रै होइन, बृहत् अभियानको खाँचो छ।
(रबर्टसन वातावरण इतिहासकार हुन्। उनको भिडिओ श्रृङ्खला ‘मीठो लेखाइ’ युट्युबमा उपलब्ध छ। हिमाल, मंसीर २०७८ मा प्रकाशित।)