कोरम नपुगेपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित
भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित भएको छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि सुनुवाइ स्थगित भएको हो। १५ सदस्यीय समितिमा अहिले १२ सदस्य रहेका छन्। आज पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरू पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरू पनि महाधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको सभापति कर्णले बताए। अब अर्को बैठक १७ मंसीरमा बोलाइएको छ।
आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो।
सरकारले केही समयअघि भारतका लागि शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिश गरेको थियो।
संसदीय सुनुवाइका लागि १२ कात्तिकमा समितिमा प्रस्ताव आएको थियो। समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ।