काठमाडौंमा १२ वर्षमाथिका बालबालिकालाई फाइजर खोप लगाइँदै
कोभिड-१९ विरुद्धको फाइजर खोप आजबाट काठमाडौंमा १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन थालिएको छ।
पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोग भएका बालबालिकालाई फाइजर खोप दिइएको थियो। पहिलो डोज २८ कात्तिकदेखि ४ मंसीरसम्म दिइएको थियो। अब दोस्रो डोज २७ मंसीरदेखि २ पुससम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसअघि आजबाट १२ वर्षमाथिका सबै बालबालिकालाई फाइजरको खोप दिन शुरू गरिएको हो। काठमाडौंमा गङ्गालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा फाइजर खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।
उनका अनुसार, खोपको मात्रा कम भएका रहेको छ। त्यसैले आज र भोलि मात्रै खोप लगाउने व्यवस्था गरिएको छ। आज प्रत्येक खोप केन्द्रमा ३०० देखि ४०० जनालाई खोप लगाइने उनले जानकारी दिए।
यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर लगाउन थालिएको हो।