प्रधानन्यायाधीशले तोके इजलास, वकीलहरूले बहस नगर्ने
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू बाहेकका न्यायाधीशको इजलास तोकेका छन् भने कानून व्यवसायीले बहस नगर्ने भएका छन्।
प्रधानन्यायाधीश जबराले आइतबार सबै प्रकारका ३३४ मुद्दाको पेसी तोकेका छन्। त्यसका लागि उनले नौ वटा इजलास गठन गरेका छन्। आज पनि आफ्ना लागि भने इजलास गठन गरेका छैनन्।
जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले भने आज पनि विरोध जारी राखेका छन्। उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्।
आज सर्वोच्चसँगै देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको बहस नगरिने नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले जनाएका छन्।
बारको अगुवाइमा कानून व्यवसायीहरू तीन सातादेखि प्रधानन्यायाधीशको विरोध गर्दै आएका छन्। आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका छन्।