बच्चा बोकेर हिमाल चढ्ने आमाको कथा किम्फमा
अमेरिकी फिल्म निर्देशक कायल रुडिकले बनाएको ड्रिम माउन्टेन फिल्ममा नेपालकी एक महिला पर्वतारोहीलाई पिठ्यूँमा नानी बोकेर हिमाल-पहाड उक्लिंदै गरेको देखिन्छ।
नेपालकी पहिलो महिला पर्वतारोहण प्रशिक्षक समेत रहेकी चर्चित आरोही पासाङल्हामु शेर्पा अकिता आफ्नो नाबालक छोरा नोर्बु सहित आरोहणमा निस्किएको कथा फिल्ममा समेटिएको छ।
मातृत्व र आरोहणको यात्रा तय गरिरहँदा पासाङ एक ठाउँमा भन्छिन्, “घरमा सानो बच्चा छोडेर हिमाल चढ्न जानु ठीक होइन कि जस्तो लागेको थियो, तर फेरि सोचें, सबै महिलालाई आफ्नो सपना पछ्याउने अधिकार छ।”
२३-२७ मंसीरमा हुन लागेको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को उद्घाटन सत्रमा यिनै साहसी आरोही आमाबारे बनाइएको फिल्म देखाइँदै छ। १८ मिनेटको यस फिल्ममा पासाङलाई एक पर्वतारोही, आमा, समाजसेवी र प्रेरक व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।
सोलुखुम्बुको लुक्लामा जन्मिएकी उनी सानैदेखि विश्वकै नामी हिमाल आरोही बन्न चाहन्थिन्। सगरमाथा, केटु, अन्नपूर्ण, धौलागिरी जस्ता अप्ठ्यारा र सबैभन्दा अग्ला हिमालहरू चढेर उनले आफ्नो सपना पूरा गरेकी छन्। र, अन्य महिलालाई पनि सपना पूरा गर्न प्रेरणा दिने गरेकी छन्।
किम्फमा जलवायु सङ्कट विषयक फिल्म
किम्फको १९औं शृङ्खलामा २८ देशका ५५ वटा फिल्म प्रदर्शन गरिने भएको छ। कोभिड-१९ महामारीका कारण गत वर्षदेखि अनलाइनबाट पनि फिल्म देखाउन थालिएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए।
“अनलाइन-स्क्रिनिङले हाम्रो पहुँच अझै बढाएको छ,” थापा भन्छन्, “देश-विदेशका दर्शक-श्रोताको नयाँ जमात थपिएको छ। पोहोर सबै गरेर २६ हजार भ्यूज थियो। यत्तिका सबैले सबै दिन सबै फिल्म त हेरेनन् होला, तर कम्तीमा एउटा त हेरे होलान्।” कोरोना महामारीले फिल्म महोत्सवहरूलाई प्रविधिमैत्री बन्न बाध्य पारेको थापा बताउँछन्।
फेस्टिभल को–अर्डिनेटर निशिता थापाका अनुसार, किम्फले यसपालि ‘टिकटक फर क्लाइमेट जस्टिस’ शीर्षकमा टिकटक शर्ट फिल्म कम्पिटिशन पनि आयोजना गर्दै छ।
“जलवायु सङ्कटको समाधान गर्न र वातावरण संरक्षणका लागि तपाईं-हामीले के गर्न सक्छौं, यसबारे टिकटक भिडिओ बनाउन आह्वान गरिसकेका छौं,” उनी भन्छिन्, “किम्फको टिकटक एकाउन्टमा पनि ती भिडिओ राखिनेछन्।” यसमा प्रथम हुनेलाई पाँच सय यूरो प्रदान गर्नुका साथै उत्कृष्ट १० फिल्मलाई किम्फमा देखाइने उनले बताइन्।
महोत्सवमा भारतीय वातावरण अभियन्ता एवं शिक्षा सुधारक सोनम वाङ्गचुकले विद्वत् प्रवचन दिने तय भएको छ। थ्री इडियट्स फिल्ममा आमीर खानले निर्वाह गरेको रन्चोडदास शामलदास चांचड वा फुङ्सुक वाङ्डु पात्र यिनै वाङ्गचुकबाट प्रेरित थियो।
चलचित्र विकास बोर्डको हलमा किम्फको औपचारिक कार्यक्रम गरिने भएको छ। वाङ्गचुकले त्यहीं बोल्नेछन्। ‘नेपाल पानोरमा’ विधाका १२ वटा फिल्म पनि त्यहाँ प्रदर्शन हुनेछन्।
विगत दुई दशकदेखि बर्सेनि आयोजना हुँदै आएको यस फिल्म महोत्सवमा विशेषतः हिमाली जीवन र हिमाली समुदायका जटिलता र विविधतालाई डकुमेन्ट्री, फिक्शन, एनिमेशन गरी विविध आयामबाट देखाइने गरिएको छ।