प्रधानन्यायाधीश विरुद्ध बारको यस्तो छ देशव्यापी आन्दोलनको कार्यक्रम
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले देशव्यापी आन्दोलन घोषणा गरेको छ।
बारको केन्द्रीय कार्यसमितिले बैठकले एक साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। सर्वोच्च अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन दमन र कुटपिट गरेकाले देशव्यापी आन्दोलनमा उत्रिनुपरेको बारका महासचिव लीलामणि पौडेलले जनाएका छन्।
साताव्यापी आन्दोलनको पहिलो दिन आइतबार बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने बारले निर्णय गरेको छ। सर्वोच्चसँगै उच्च र जिल्ला अदालतमा पनि अन्य मुद्दामा बहस नहुने भएको छ।
त्यस्तै, ६ मंसीरमा देशभरका अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टी बाधेर धर्ना, विरोध सभा गरिने भएको छ। त्यससँगै संसदीय दलहरूलाई ज्ञापनपत्र बुझाउने बारको तयारी छ।
७ मंसीरमा हदम्याद गुज्रिने अवस्थाका अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधिकरणमा फिराद, प्रत्युत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले जनाएको छ।
यस्तै, ८ मंसीरमा सबै उच्च अदालतमा विरोध प्रदर्शन गरिने भएको छ। यो दिन पनि उच्च अदालतमा बहस नगर्ने बारले निर्णय गरेको छ।
बारले ९ र १० मंसीरमा सर्वोच्च अदालतमा विरोध प्रदर्शन जारी राख्ने र यसमा काठमाडौं उपत्यकाका सबै एकाइका कानून व्यवसायी सहभागी हुने भएका छन्।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिएमा थप आन्दोलनका कार्यक्रम जारी गरिने बारले जनाएको छ। बारले १४ कात्तिकदेखि सर्वोच्च अदालतमा नियमित प्रदर्शन गर्दै आएको छ।