विद्यालयमा कांग्रेस अधिवेशन
खोटाङमा नेपाली कांग्रेसले शैक्षिक संस्थालाई क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)को अधिवेशनस्थल बनाएको छ।
शुक्रबार कांग्रेसको क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवेशन हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय मावि र (प्रदेश ख)को अधिवेशन अन्तर्गतको मतदान खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिमपानी क्याम्पसमा सञ्चालन भएको छ।
अधिवेशन भएका विद्यालय शैक्षिक संस्था कम पार्टी कार्यालय बढी देखिएका छन्। विद्यालयको गेट तथा आसपासमा झण्डा, ब्यानर र पर्चा टाँगिएका छन्।
शैक्षिक संस्थामा राजनीतिक गतिविधि गर्नु अनुचित भएको दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यापक ध्रुव श्रेष्ठ बताउँछन्।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (ड) मा अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति विना कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने, गराउने कामलाई बन्देज लगाइएको छ।
कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले विद्यालयसँग अनुमति लिएर कक्षा नभएको समयमा ११–१२ को भवनमा मात्र कार्यक्रम गरिएको बताए।
महेन्द्रोदय माविले शुक्रबारका लागि बोलाएको अभिभावक बैठक र कांग्रेसको क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवशनस्थल एकै स्थान र मितिमा परेको छ। जसले गर्दा विद्यालयको तल्लो भवनमा कांग्रेसको मतदान र माथिल्लो भवनमा विद्यालयको बैठक बसेको थियो।
राजनीतिक गतिविधिका लागि शैक्षिक संस्था प्रयोग भएको यो नौलो घटना भने होइन। हरेक दलले विद्यालयमा कार्यक्रम गर्दै आएका छन्।