वार्ताका लागि बारलाई प्रधानन्यायाधीशको पत्र
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि आह्वान गर्दै नेपाल बार एसोसिएशनलाई पत्र पठाएका छन्।
सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनलाई टुङ्गो लगाउन प्रधानन्यायाधीश जबराले शुक्रबार बारलाई पत्र पठाएका हुन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई सम्बोधन गरेर पठाएको पत्रमा वार्ताका लागि आह्वान गरिएको छ।
प्रधानन्यायाधीश जबराले वार्ताका लागि पत्र पठाएको नेपाल बारका एक पदाधिकारीले हिमालबखबरलाई बताए। प्रधानन्यायाधीशले पठाएको पत्रका विषयमा बारमा छलफल भइरहेको छ।
“प्रधानन्यायाधीशले पत्र पठाउनुभएको छ, त्यसमा के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,” ती पदाधिकारीले भने।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएशनले आन्दोलन गर्दै आएको छ। बारको आन्दोलनका कारण तीन सातादेखि सर्वोच्च अदालतका कामकाज प्रभावित भएका छन्।