माटोको मर्म र ‘फातसुङ’
पार्टीहरूबीचको प्रतिस्पर्धा, जनतालाई स्वतन्त्रता प्राप्तिको आश्वासन, राजनीतिक धोका, राज्यपक्षसँग अप्रत्यक्ष गठबन्धन, जनता विरुद्ध गुप्तचरी, पार्टीको गद्दारी जस्ता विषयलाई पुस्तकले समेटेको छ जुन वर्तमान नेपालमा पनि सान्दर्भिक छ।
दार्जीलिङ र सिक्किममा बसोबासको इतिहास केलाउँदा तिब्बती छोग्याल वंशको शासनकालसम्म पुग्नुपर्ने हुन्छ। सन् १६४१ मा तिब्बतीहरूले शासन कायम गर्दा त्यहाँका लेप्चा र मगरका गढहरू जित्नुपरेको उल्लेख छ (कुमार प्रधान)।
यसको अर्थ, त्यस ठाउँमा अहिलेसम्म पाइएकामध्ये सबैभन्दा पुराना बासिन्दा मगर र लेप्चा नै हुन् भन्ने हो। मगर जाति धेरैतिर फैलिएका र लेप्चा त्यही भूभागमा सीमित रहेकाले लेप्चा त्यहाँका मगरभन्दा पुराना बासिन्दा हुन सक्ने आकलन पनि गर्न सकिन्छ।
कतिपय विद्वान्ले मगरलाई तिब्बतको खारी प्रदेशबाट आएको भनेका छन्। शरतचन्द्र दासले चाहिं कञ्चनजङ्घाको पश्चिमपट्टि कांगपाचेन उपत्यकामा मगरहरूको किल्ला र भग्नावशेष देखेको उल्लेख गरेका छन् (जर्नी टु ह्लासा एन्ड सेन्ट्रल तिब्बत, १९०२)। नेपालको पूर्वी भेगमा केही स्थानीय नाम लेप्चा भाषाबाट हुनु, नेपाली भूभागमा लेप्चाको बसोबास (चौथो शताब्दीतिरबाट) लिम्बू (सातौं शताब्दी तिरबाट)को भन्दा पुरानो मानिनु (सौरभ) आदिले पनि दार्जीलिङ लगायत भूभागमा लेप्चाको बसोबास पुरानो मान्न सकिन्छ।
वर्तमान दार्जीलिङको स्वतन्त्रताको मागको पाटोलाई हेर्दा ब्रिटिशको समयदेखि नै आवाज उठेको हो। उक्त भूभागमा आफ्नो अधिकार स्थापनाका लागि विभिन्न समयमा विभिन्न सङ्गठन समेत खुले- हिलमेन्स एसोसिएशन १९१७, नेभुला (नेपाली, भुटिया र लाप्चा) १९३६, गोरखा लिग १९४३, सीपीएम (कम्युनिष्ट पार्टी मार्क्सवादी) १९६६, गोरखा राष्ट्रिय मुक्ति मोर्चा (सुवास घिसिङ) १९८०, गोरखा स्वायत्त पार्वत्य परिषद् १९८८। यिनै संस्थाहरूको आन्दोलन र पहलमा त्यहाँ नेपाली भाषाले २३ अगस्ट १९९२ मा मान्यता पाएको थियो।
पहाडी जनजीवन, गरीबी अनि त्यसमा पनि स्वतन्त्रता खोजीको विषय जीवन्त रूपमा उठाइएको उपन्यासमा दार्जीलिङ बजार, भलबुङ, पोखेबुङ, पुबुङ, सिलिगुडी, कालेबुङ, लोले तथा अन्य शहर र गाउँका कथा जोडिएको छ।
अब लागौं, ‘फातसुङ’ उपन्यासतिर। छुदेन काविमोद्वारा लिखित उपन्यासमा विशेष गरी स्वतन्त्र गोर्खाल्यान्डको आन्दोलनमा केन्द्रित भएर सन् १९८५-८६ तिरका घटनाको चित्रण गरिएको छ। पहाडी जनजीवन, गरीबी अनि त्यसमा पनि स्वतन्त्रता खोजीको विषय जीवन्त रूपमा उठाइएको उपन्यासमा दार्जीलिङ बजार, भलबुङ, पोखेबुङ, पुबुङ, सिलिगुडी, कालेबुङ, लोले तथा अन्य शहर र गाउँका कथा जोडिएको छ।
उपन्यासमा लेखकले साथी रिप्देनसँगका बाल्यकालीन भोगाइ मार्फत तत्कालीन परिवेशको चित्रण गरेका छन्। लोलेमा रहेकी रिप्देनकी मतिम (फुपू)को घर जाँदा त्यहाँ रहेका एक स्वतन्त्रता लडाकू नाजिमले बताएको कथा र पहिरोले रिप्देनलाई बगाएपछि त्यसको समाचार सङ्कलनका लागि त्यहाँ जाँदा ऊसँग जोडिएको विगतको स्मरण नै उपन्यासको कथावस्तु हो।
गाउँले जीवनशैली, गरीबी र अभावका कथा, राजनीतिक आश्वासन, विकास कार्यमा हुने राजनीति, स्कूलको राजनीति, उक्त भूगोलले खेप्नुपरेका विपत्तिहरू यसमा समेटिएका छन्। नेपाली जाति (भाषी)हरू, सांस्कृतिक व्यवहार, परम्परा र अन्तःसम्बन्धहरू समेत समेट्न खोजिएको छ। यसको भाषाशैलीमा पनि गाउँ-समाजमा बोलिने ठेट शब्द, लवजलाई उतार्ने प्रयास गरिएको छ।
आफू स्वतन्त्र हुन पहिला भूमि स्वतन्त्र हुनुपर्ने मान्यतासाथ त्यसका लागि गरिएको सङ्घर्षलाई उपन्यासमा उतारिएको छ। यसभित्रका केही कथाले लडाकू जीवनका बहुआयामिक पाटालाई समेट्छन्। मलाई लाग्छ- आजसम्मका सम्पूर्ण लडाइँ नै स्वतन्त्रताको उपभोगका लागि भएका हुन्, भलै त्यसमा विभिन्न उद्देश्य, आयाम, व्यक्ति, स्वार्थ, विषय र बहाना देखाइयोस्।
उपन्यासका पात्रहरू यस्ता छन्
नोर्देन : उसलाई स्वतन्त्रता योद्धाका रूपमा चित्रित गरिएको छ। आमाबाबुको अभावमा हुर्किएको ऊ राजु सरसँग बसेर पढ्छ। जोशैजोशमा आन्दोलनमा लागेको ऊ रिपन्दीसँग प्रेममा पर्छ।
विवाहपछि छोरो रिप्देन जन्मन्छ। छोरो मार्फत नै उसले ठूलो सपना देखेको हुन्छ। लडाइँका लागि हतियार किन्न जाँदा अत्यन्त कष्ट भोग्छ। शत्रुबाट भाग्ने क्रममा उसको खुट्टा भाँचिन्छ, त्यही क्रममा ऊ हराउँछ।
नाजिम : स्वतन्त्रताकै योद्धाका रूपमा चित्रित नाजिम पानवालाको छोरा हुन्छ। सँगै पढ्ने ऊ रचेलासँगको प्रेममा पर्छ। तर, आन्दोलनकै क्रममा उसको मृत्यु हुन्छ। उसको अधुरो प्रेम र आन्दोलनको चर्चा उपन्यासमा गरिएको छ।
चिफ सर : पढाइभन्दा पनि खेलमा रुचि राख्ने कालेबुङको केटोको नाम हुन्छ, चन्द्रसिंह सुब्बा। सेनाको जागीर छाडी आन्दोलनमा लागेको ऊ नै त्यसको नेतृत्वकर्ता समेत हो।
राजु सर: आन्दोलनको कमान्डर ऊ भिडन्तमा सीआरपीबाट ज्यान जोगाएर बाटो कस्छ। स्कूलको मास्टर समेत रहेको उसलाई आन्दोलनको भगौडा वा अवसरवादी मान्छेका रूपमा चित्रित गरिएको छ।
सूर्य दा : स्वतन्त्रताको शूरो योद्धा हुन्छ सूर्य राई। उसको नोर्देन र नासीमसँग गहिरो मित्रता हुन्छ। सहकर्मी पूनमसँग प्रेममा पर्छ। तर, पूनमको भाइ नेप्टे मारिएपछि ऊ क्याम्प छोडी चिया कमानतिर लाग्छे। अनि उनीहरूको प्रेममा पनि दूरी आउँछ।
शहीद रामप्रसाद : खास नाम हुन्छ, रामप्रसाद तामाङ। आन्दोलनमा होमिने क्रममै उसको ज्यान जान्छ। उसलाई स्वतन्त्रता योद्धा र शहीदका रूपमा चित्रित गरिएको छ।
बुढाथोकीकी छोरी : रामप्रसादसँग प्रेम र विवाह भएकी गाउँले केटी हो ऊ। अभाव, दुःख र वियोगकी पात्र। पतिको आन्दोलनमा मृत्यु भएको र बच्चा समेत नरहेपछि मानसिक सन्तुलन गुमाएकी उसलाई रेली खोलाले बगाउँछ।
रिप्देन : लेप्चा केटो रिप्देन नोर्देन र रिपन्दीको छोरो हो। चार वर्षको छँदा आमाले छाडेकी उसको बुबा पनि आन्दोलनमा हराउँछ। चकचके बालक ऊ पनि पछि पहिरोमा हराउँछ।
अरू पनि विभिन्न पात्र छन्- सोनाम तामाङ, आङ्देन लेप्चा, तारनाम भुजेल, गौरी भाइ, तुलाराम शर्मा, जुनिराम क्षेत्री, हरिप्रसाद विश्वकर्मा, मतिम, नेप्टे, अकु, नीलकमल लगायत।
यिनै पात्र मार्फत उपन्यासमा युद्धकालीन त्रास अनि जोशजाँगर, त्यसबीचको सङ्घर्षका कथा, पारिवारिक समस्या, मायापिरती अनि मिलन-बिछोडका कथा बेजोड शैलीमा प्रस्तुत गरिएको छ।
पार्टीहरूबीचको प्रतिस्पर्धा, जनतालाई स्वतन्त्रता प्राप्तिको आश्वासन, राजनीतिक धोका, राज्यपक्षसँग अप्रत्यक्ष गठबन्धन, जनता विरुद्ध गुप्तचरी, पार्टीको गद्दारी जस्ता विषयलाई पुस्तकले समेटेको छ जुन वर्तमान नेपालमा पनि सान्दर्भिक छ। आकारमा सानो तर खँदिलो यो कृति पढ्न योग्य र सराहनीय छ।
पात्र र घटनालाई मिहिन तरिकाले जोडे पनि यसमा अन्तःसम्बन्धका थुप्रै प्राविधिक समस्या भने देखिन्छन्। कतिपय पात्रको उठानपछि खास व्यवस्थापन गरिएको पाइँदैन। लेखक आफैं अन्योलमा परे जस्तो लाग्छ। कैयौं ठाउँमा कथा यसरी लगिएको छ कि गतिको तारतम्य नै मिल्दैन। स्कूलमा अरू कक्षा नै नहुनु, गाउँमै बसेर हुर्केको जवानले केही दिनपछि आफ्नो गाउँ नै नचिन्नु जस्ता कैयौं असान्दर्भिक र अप्राविधिक कुराहरू राखिएका छन्।
उपन्यासमा सङ्केत गरिए अनुसार नेपाल-भारत मैत्री सन्धि नेपालको हितमा थिएन, मात्र नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ छुट्टै राष्ट्र हो भनेर देखाउन बाहेक। त्यसमा उल्लिखित धारा ७ लाई पर्चा बनाएर जलाइएको छ। त्यसको दृष्टिकोण के थियो त? प्रस्ट छैन। हुन त यसैको धारा ८ र भारतीय संविधानको धारा १ को उपधारा ३ को (ग) लाई आधार बनाएर १९९२ मा दार्जीलिङको वैधानिकताका लागि भारतीय सर्वोच्च अदालतमा मुद्दा पनि परेको थियो।
उपन्यासमा लेखकका बाजे क्योंङ सेजुम (लेप्चा संघ)का अध्यक्ष रहेको गाउँमा सामाजिक तथा सांस्कृतिक विभेद हट्न नसकेको विषय उठाइएको छ, बिहेभोजमा गरिएको एउटा व्यवहारबाट। हरिप्रसादको माध्यमबाट पनि जातीय छुवाछूतको कुरा उठाइएको छ जुन आजको पनि समस्या हो। कानूनी रूपमा उन्मूलन भए पनि यिनको व्यावहारिक अस्तित्व अझै छ। तर, पुस्तकमा छुवाछूत विरुद्ध आवाज उठाउनुभन्दा अर्को धर्ममा जानुलाई समाधान जस्तो औंल्याएर धर्म परिवर्तनप्रति आसक्ति देखाइएको छ।
स्कूलमा शिक्षिकाको सुन्दरताको चर्चा जति गरिएको छ, त्यसभन्दा बढी उनले बोकेको बाइबलको गरिएको छ। विभिन्न ठाउँमा इसाई इतर संस्कृतिलाई मजाक बनाइएको छ। त्यसमध्येको एउटा उदाहरण हो- जुनिरामको चित्रकला र शिक्षिकाको अभिव्यक्ति।
उपन्यास पढ्दा लेप्चा जातिमा इसाईकरणको प्रभाव ज्यादा रहेको भान हुन्छ। कथाको दोस्रो भागमै आदम र इभको सृष्टिको कथा शुरू हुनु, ठाउँठाउँमा बाइबलका कुरा निस्किनुले पनि यस्तो झल्काउँछ। के यस्ता मिथ लेप्चा संस्कृतिमा छैनन् र इसाईबाट सापटी लिनुपरेको?
सन् १९९० पछि जातीय, भाषिक र सांस्कृतिक जागरुकताको जोड गोर्खाल्यान्डमा अझ बढेको पाइन्छ। लेप्चा भाषाका शब्दहरू दार्ज्याेल्याङ (देउता बस्ने र हाँस्ने ठाउँ), खरसाङ (सेतो सुनाखरी फूल), कालेनपुङ (लेप्चाहरू भेला हुने ठाउँ) लगायत अर्थपूर्ण छन्।
पुस्तकमा लाछिरिङ भनिने पात्रको माध्यमबाट ‘तिब्बतीहरूले लेप्चाहरूको लिखित कथा मारिदिए, भोटाङेहरूले लेप्चाको राजा मारिदिए, ब्रिटिशहरूले भाषा मारिदिए’ भनिएको छ। यो उद्धरणलाई उपन्यासको शीर्षक ‘फातसुङ’ ले चाहिं न्याय गरेको छ त? लेप्चाको संस्कृति नै नभए जसरी विदेशी सभ्यताका कथाहरू जोड्नुले यस्तो देखाउँदैन। लेप्चा भाषाको शब्द फातसुङको अर्थ हुन्छ- माटोको कथा।
तर, रैथाने संस्कृतिलाई छुटाइएको कथा कसरी माटोको कथा हुन सक्छ? हरेक समुदायसँग संस्कृति र त्यसको पहिचान जोडिएको हुन्छ। त्यसलाई माटोले फलाएको, समाजले जोगाएको हुन्छ। यो कुरा जुलियन स्टेवार्डले सन् १९९५ मा सांस्कृतिक अनुकूलनको सिद्धान्तमै लेखिसकेका छन्।
उपन्यासमा सांस्कृतिक रूपका आयाम र स्वतन्त्रता पनि खोजिएको भए अझ राम्रो हुन्थ्यो। झट्ट हेर्दा ‘फातसुङ’ शब्दले लेप्चा संस्कृतिको झल्को दिने भए पनि भित्री कथाले त्यसलाई न्याय गरे जस्तो लाग्दैन।